राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीका दुई थान दाह्रासहित ६ जना पक्राउ


काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा मंगलबार राति अपरेशन चलाएर केही व्यक्तिलाई दाह्रासहित पक्राउ गरेको हो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको २४ सै घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।

राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए । यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेका व्यक्तिले राष्ट्रपति कार्यालयबाट चोरी गरेर लगेका दाह्रा काटेर भाग लगाएर आ–आफ्ना घरमा सजाएर राखेको पाइएको प्रहरीले जनाएको छ ।