सुस्ताको आँसु र ‘धमलाको दौडः ‘मख्ख’ सुस्तावासी, ‘बोल्ड’ धमला


नवलपरासी । नारायणी नदीको धार फेरिइरहन्छ तर सुस्तावासीको भाग्यको धार फेरिएको छैन । वर्षौँदेखि गुन्जिरहेको एउटै आवाज हो- सुस्तामा कहिले आउला नेपाल ? राज्यको आँखा नपुगेको, भूगोलले ठगेको र राजनीतिले बिर्सेको त्यही सुस्ताको ‘क्रसिङ पोइन्ट’मा भोलि (बिहीबार) एउटा यस्तो नेपाली पुग्दैछ, जसको एउटै प्रश्नले सिंहदरबार हल्लिन्छ ।

हो, नेपाली पत्रकारिताको इतिहासमा सदाबहार चर्चित पत्रकार ऋषि धमला भोलि सुस्ताबासीको घरदैलोमा पुग्दैछन् । ‘स्वतन्त्र नागरिक अभियान’ को ब्यानरमा देश दौडाहामा निस्किएका धमलाले भोलि सुस्ताका नागरिकसँग अन्तक्र्रिया गर्नेछन् ।

सुस्ताको घाउ, जहाँ धमलाले मलम लगाउने वाचा गर्नेछन्–
नेपालको नक्सामा सुस्ता छ, तर सुस्तावासीको जीवनमा अझै पनि राज्यको ‘सिग्नल’ कमजोर छ । भोलिको अन्तक्र्रियामा धमलाले सुस्ताबासीका मुख्य तीनवटा दुखाइलाई आफ्नो एजेन्डा बनाएका छन्–

शिक्षाको अन्धकार
सुस्तामा माध्यमिक तहको राम्रो शिक्षा पाउनु अझै पनि युद्ध जितेसरह छ । नेपाली पाठ्यक्रम पढ्न भारतीय भूमि वा नारायणीको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

स्वास्थ्यमा सास्ती
सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सुस्तामा आज पनि कायम छ । आकस्मिक बिरामी पर्दा अस्पताल पुग्नुअगाडि भगवान् पुकार्नुपर्ने बाध्यता सुस्तावासीको नियति हो ।

रोजगारी र पहिचानको संकट
सुस्ताका युवाहरूसँग ऊर्जा छ, तर रोजगारी छैन । खेतीपाती गर्न जाँदा सीमाका आफ्नै झमेला छन् ।

‘जहाँ राज्य पुग्दैन, त्यहाँ ऋषि धमला पुग्छ- म सुस्तावासीका यी समस्या सुन्न मात्र होइन, सिंहदरबारका शासकहरूको पाखुरा समातेर सुस्ताका समस्या समाधान गराउन त्यहाँ जाँदैछु,’ सुस्ता प्रस्थान गर्नुअघि धमलाले भने ।

किन मख्ख छन् त सुस्तावासी ?
सुस्तावासीले धेरै नेता हेरे, धेरैका भाषण सुने । तर, आश्वासनको पुल मात्र पाए, नारायणीमा वास्तविक पुल पाउन दशकौँ कुर्नुपर्‍यो । यसपटक सुस्ताबासी यसकारण मख्ख र आशावादी छन् कि उनीहरूको आवाज उठाउन कोही ‘विज्ञ’ होइन, सिधै ‘एक्सन ओरिएन्टेड’ व्यक्तित्व ऋषि धमला आउँदैछन् ।

धमलाको आगमनले सुस्तावासीमा एउटा फरक खालको उत्साह छाएको छ । स्थानीय भन्छन्- ‘‘नेताहरू आउँछन्, डायरीमा नोट गर्छन् र जान्छन् । धमलाजीले त सिधै क्यामरा अगाडि मन्त्रीलाई फोन गरेर ‘तपाईं सुस्ताको काम कहिले गर्नुहुन्छ ? जनताले जवाफ खोजेका छन्’ भनिदिन्छन् । हामीलाई त्यही बोल्ड मान्छे चाहिएको हो ।’’

स्वतन्त्र नागरिक अभियानः पत्रकारिताबाट जनस्तरको ‘मिशन’
दशकौँसम्म विभिन्न पत्रपत्रिका, रेडियो, अनलाइन, रिपोर्टर्स क्लब र टेलिभिजन स्टुडियोको हट सिटबाट देशको राजनीतिलाई दिशानिर्देश गरेका धमला अहिले ‘स्वतन्त्र नागरिक अभियान’मार्फत गाउँ–गाउँ पुगिरहेका छन् । समाचार कक्षको वातानुकूलित (एसी जडित) कोठा छोडेर सुस्ताको राप र तापमा जनताका मुद्दा उठाउन निस्किएका धमलाको यो रूपले धेरैलाई चकित मात्र पारेको छैन, राजनीतिज्ञहरूलाई समेत सोच्न बाध्य बनाएको छ ।

भोलिको अन्तक्र्रिया केवल भलाकुसारी मात्र हुनेछैन, यो सुस्ताको आवाजलाई राष्ट्रिय बहसको केन्द्रविन्दुमा ल्याउने ‘धमला स्टाइल’को महासंग्राम हुने निश्चित छ । सीमा समस्यासँगै शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा धमलाले गर्ने पहलले सुस्ताको ओठमा मुस्कान ल्याउने अपेक्षामा सुस्ताबासीहरु ऋषि धमलालाई स्वागत गर्न आतुर छन् ।