दिल्लीले रविलाई पत्याउँदा काठमाडौँमा छटपटी !


काठमाडौँ । नेपाली राजनीतिको परम्परागत केन्द्र विन्दु यतिबेला हल्लिएको छ । सानेपा, गुण्डु र पेरिस डाँडाका भित्ताहरूमा चिसो पसेको छ अनि परम्परागत दलका शीर्ष नेताहरुमा छटपटी चलेको छ भने घण्टीको प्रतिध्वनि नयाँ दिल्लीको चाणक्यपुरी र वाराणसीको दीनदयाल उपाध्याय मार्गसम्म सुनिन थालेको छ ।

जेठ १८ गतेदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय टोलीको ५ दिने औपचारिक भारत भ्रमण केवल एउटा राजनीतिक दलको विदेश यात्रा मात्र रहेन । यो जेनजी आन्दोलनको राप-तापबाट भर्खरै बदलिएको नेपाली राजनीतिको नयाँ शक्तिलाई भारतले कुन नजरले हेरिरहेको छ भन्ने कूटनीतिक उत्तर पनि हो ।

बालेनको ‘इन्कार’ र रविको ‘इन्ट्री’


कूटनीतिक वृत्तमा यो भ्रमणको समय र आमन्त्रणको प्रकृति आफैँमा रोचक छ । स्रोतहरूका अनुसार, आम निर्वाचनमा रास्वपा नयाँ शक्तिको उदय भएपछि नयाँ दिल्लीले शुरुमा प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली उतार्ने कूटनीतिक कसरत गरेको थियो । तर, शाहले ‘निश्चित समयसम्म देशबाहिर कूटनीतिक भ्रमण नगर्ने’ आफ्नो आन्तरिक अडान कायम राखेपछि भारतीय संस्थापन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो कूटनीतिक प्राथमिकताको केन्द्रमा रास्वपा सभापति रवि लामिछानेलाई राखेको हो । यो घटनाले के देखाउँछ भने नयाँ दिल्ली नेपालका पुराना दलहरूसँग मात्रै आफ्नो ‘इन्गेजमेन्ट’ सीमित राख्ने गल्ती अब दोहोर्‍याउन चाहँदैन ।

भ्रमणको पहिलो दिन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेको स्वागतका लागि भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले आफैँ पुग्नु सामान्य शिष्टाचार मात्र थिएन । कूटनीतिक मामिलाका जानकारहरूका अनुसार कुनै छिमेकी देशको प्रतिपक्षी वा नयाँ दलको नेतालाई भाजपाको उच्च नेतृत्वले विमानस्थलमै पुगेर स्वागत गर्नुले भारतले रास्वपालाई नेपालको ‘भावी सत्ताको निर्विकल्प शक्ति’का रूपमा स्वीकार गरेको बलियो संकेत दिन्छ ।

यसैबीच, मंगलबार भाजपा मुख्यालयमा अर्को भव्य दृश्य देखियो । पुष्पवृष्टि, सांस्कृतिक नृत्य र गायनसहित लामिछानेलाई स्वागत गरियो । भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले ‘नो भाजपा’ (भाजपालाई चिन्नुहोस्) अभियानअन्तर्गत लामिछानेको टोलीका लागि विशेष ब्रिफिङको आयोजना गरे । दुई देशका उदीयमान र स्थापित शक्तिबीच सांगठनिक र वैचारिक पुल निर्माण गर्नु नै यो भ्रमणको मुख्य कडी थियो ।

अमित शाहसँगको दुर्लभ भेटः सुरक्षा साझेदारको खोजी


यो भ्रमणको सबैभन्दा शक्तिशाली र बहसको केन्द्र बन्यो— भारतीय गृहमन्त्री अमित शाहसँगको भेटवार्ता । भारतीय राजनीतिको ‘चाणक्य’ मानिने शाह विदेशी नेताहरूसँगको भेटघाटमा निकै कठोर र छनोटपूर्ण मानिन्छन् । विगत सात वर्षदेखि गृहमन्त्री र त्यसअघि भाजपा अध्यक्ष रहँदासमेत शाहले विरलै मात्र कुनै विदेशी राजनीतिक दलका अध्यक्षलाई आफ्नो कार्यकक्षमा समय दिएका छन् । कूटनीतिक वृत्तमा यो पनि चर्चा छ कि शाहको नाममा अहिलेसम्म पासपोर्टसमेत बनेको छैन र उनले कहिल्यै विदेश भ्रमण गरेका छैनन् ।

यस्ता कडा छविका नेताले लामिछानेलाई समय दिनु र रास्वपाको जितलाई ‘ऐतिहासिक एवं अभूतपूर्व’ भन्दै बधाई दिनुले काठमाडौँका परम्परागत दलहरूको सातो उडाएको छ । शाह र लामिछानेबीच सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र सुरक्षा चासोका विषयमा गहन छलफल हुनुले भारतले रास्वपालाई नेपालको भरपर्दो ‘सुरक्षा साझेदार’का रूपमा पनि परीक्षण गरिरहेको पुष्टि गर्छ ।

मोदीसँगको भेट


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामिछानेको भेटवार्ताले काठमाडौँको राजनीतिमा पुरानो कूटनीतिक घाउलाई फेरि ब्युँताइदिएको छ । मोदीले नेपाललाई ‘छिमेकी पहिलो’ नीतिअन्तर्गतको प्राथमिकता प्राप्त साझेदार भन्दै रास्वपासँग सहकार्य गर्न उत्सुकता देखाए ।

यसले तत्कालै २०७९ भदौको त्यो सन्दर्भ सम्झायो, जब तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भाजपाको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका थिए, तर अन्तिम समयमा मोदीले उनलाई भेट्ने समय दिएनन् र दाहाल निराश हुँदै काठमाडौँ फर्किएका थिए । तर, पहिलोपटक संस्थागत भ्रमणमा गएका लामिछानेलाई मोदीले सहजै समय दिनुले दिल्लीको प्राथमिकताको सूची बदलिएको स्पष्ट पार्छ । यता विदेशमन्त्री एस. जयशंकरसँगको भेट पनि परम्परागत राजनीतिक गफमा मात्र सीमित नरही आर्थिक विकास साझेदारीमा केन्द्रित रह्यो ।

हिन्दुस्तान टाइम्समा आलेख


भ्रमणकै क्रममा रवि लामिछानेले भारतको प्रतिष्ठित अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्स मा लेखेको विचारोत्तेजक आलेखले रास्वपाको परराष्ट्र नीतिको रूपरेखा प्रस्ट पारेको छ । लामिछानेले पुराना राजनीतिक दलहरूले बोकेको ऐतिहासिक पूर्वाग्रह, गोप्य सहमति र कूटनीतिक जटिलताहरूबाट आफ्नो दल मुक्त रहेको दाबी गरे ।

उनले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनाव र सुरक्षा चिन्ताको साँघुरो घेराबाट निकालेर ‘विकास कूटनीति’मा लैजानुपर्ने वकालत गरे । सीमा मात्र होइन, अर्थतन्त्र जोडिनुपर्ने अवधारणा अघि सार्दै उनले प्रस्तुत गरेका एजेन्डाहरू निकै रणनीतिक छन्–

रक्सौल–काठमाडौं रेलमार्गको तीव्र कार्यान्वयन ।

काठमाडौं–बेंगलुरु डिजिटल करिडोरको स्थापना ।

नेपालमा आईआईटी वा एम्स जस्ता विश्वस्तरीय भारतीय प्राविधिक र स्वास्थ्य संस्थाहरूको विस्तार ।

नेपालको जलविद्युतलाई भारतको औद्योगिक इन्जिन र नेपालको युवा प्रतिभालाई भारतको प्रविधि क्षेत्रसँग जोड्ने ।
यी नयाँ दृष्टिकोणले परम्परागत ‘रोटी–बेटी सम्बन्धलाई प्रविधि र प्रगति’को सम्बन्धमा बदल्ने संकेत गरेको छ ।

रास्वपा टोलीले भाजपाको सांगठनिक मोडेललाई निकै गम्भीरतापूर्वक अध्ययन गरेको देखिन्छ । भाजपाले कसरी बुथ तहसम्म आफ्नो सञ्जाल फैलाउँछ र उम्मेदवार छनोटमा कुन वैज्ञानिक प्रक्रिया अपनाउँछ भन्नेबारे लामिछानेले चासो राखेका थिए ।

लामिछानेको सम्मानमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आयोजना गरेको दिवाभोजमा मनोज तिवारी र बाँसुरी स्वराज जस्ता प्रभावशाली युवा नेताहरूको उपस्थितिमा भएको ‘जेनजी र युवा कूटनीति’को बहसले भविष्यको नेतृत्वको खाका कोरेको छ ।

यो भ्रमणले नेपाली राजनीतिमा तीनवटा स्पष्ट सन्देश दिएको छः

१. विकल्पको स्वीकारोक्ति
नयाँ दिल्लीले नेपालका पुराना स्थापित तीन दल कांग्रेस, एमाले र नेकपाको सिन्डिकेट भत्किसकेको र नयाँ शक्तिको उदय अकाट्य रहेको सत्यलाई स्वीकार गरिसकेको छ ।

२. स्थिरताको खोजी
विगतका अस्थिर र विभाजित गठबन्धन सरकारबाट आजित भएको भारत अब नेपालमा बलियो जनमतसहितको स्थिर शक्तिसँग ‘इंगेज’ हुन चाहन्छ, जसमा रास्वपाको वर्तमान आकार र सम्भावना फिट देखिन्छ ।

३. व्यावहारिक राष्ट्रवाद
पुराना दलहरूले भारतको विरोधलाई नेपाली राष्ट्रवादको सस्तो नारा बनाएकोमा असन्तुष्ट दिल्लीले रास्वपाबाट परिपक्व र पारस्परिक लाभको कूटनीति अपेक्षा गरेको छ, जसलाई रविको कूटनीतिक परिपक्वताले केही हदसम्म आश्वस्त पारेको छ ।

अन्ततः, अमित शाहसँगको दुर्लभ कार्यकक्ष भेटदेखि मोदीको सहकार्यको प्रतिबद्धतासम्मका घटनाक्रमले रवि लामिछानेलाई केवल काठमाडौँको ‘सेलिब्रेटी नेता’बाट उठाएर दक्षिण एसियाकै एक उदीयमान र भविष्यमुखी नेताको रूपमा कूटनीतिक मञ्चमा उभ्याएको छ । यो भ्रमण काठमाडौँका पुराना दलहरूका लागि एउटा गम्भीर चेतावनी हो भने नेपाली जनताका लागि नयाँ कूटनीतिक र आर्थिक समृद्धिको नयाँ ढोका हो।