कुनै पनि बाहानामा जातीय विभेद गर्न पाइँदैन : आङदेम्बे


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटना हुनु चिन्ताको विषय भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस प्रकारका अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पुर्याउने भएकाले कुनै पनि बाहानामा त्यसो गर्न नपाइने बताएका हुन् ।

सन्देशमा नेता आङदेम्बेले विभेदको अन्त्य केवल कानुनको कार्यान्वयनबाट मात्र सम्भव नहुने उल्लेख गर्र्दै त्यसका लागि समाजमा चेतना, सहिष्णुता, सम्मान र समान व्यवहारको संस्कृतिको विकास अपरिहार्य रहेकामा जोड दिएका छन् ।

यस्ताे छ उनकाे शुभकामना सन्देश :

जेठ २१, २०८३

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस-२०८३ को

अवसरमा शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल सरकारले वि.सं. २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । त्यसैगरी, जातीय विभेद र छुवाछूतविरुद्धको कानुनी व्यवस्था सुदृढ गर्दै वि.सं. २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ जारी गरिएको थियो । यी दुवै ऐतिहासिक कदमले समानता, मानव अधिकार र सामाजिक न्यायप्रतिको नेपालको प्रतिबद्धतालाई संस्थागत गरेका छन् ।

नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गर्दै कुनै पनि व्यक्तिमाथि जात, समुदाय वा उत्पत्तिका आधारमा गरिने विभेदलाई निषेध गरेको छ । संविधानको यही मर्मअनुसार समतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्नु आजको प्रमुख राष्ट्रिय दायित्व हो ।

यद्यपि कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटनाहरू अझै देखिनु चिन्ताको विषय हो । यस प्रकारका अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पुर्या उँछ । त्यसैले विभेदको अन्त्य केवल कानुनको कार्यान्वयनबाट मात्र सम्भव छैन, यसका लागि समाजमा चेतना, सहिष्णुता, सम्मान र समान व्यवहारको संस्कृतिको विकास अपरिहार्य छ ।

यस अवसरमा जातीय भेदभाव र छुवाछूतविरुद्ध दृढतापूर्वक उभिँदै सामाजिक न्याय, समान अवसर र मानव मर्यादाको संरक्षणका लागि सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिक एकजुट भएर अघि बढ्न आह्वान गर्दछु ।

विविधताबीचको एकतालाई थप सुदृढ गर्दै विभेदरहित, समावेशी र समतामूलक नेपाल निर्माणको अभियानमा यो दिवसले नयाँ ऊर्जा प्रदान गरोस् र जातीय भेदभाव विरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

भीष्मराज आङदेम्बे

नेता

नेपाली कांग्रेस संसदीय दल