कीर्तिपुर (काठमाडौंँ), २२ जेठ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई लागेको छ, अब जीवन नयाँ तरिकाले अघि बढ्छ । सधैँ यस्तै त नहोला नि !”
वर्षायाम सुरु भएसँगै आफू बसेको थापाथलीको बागमती किनारमा हुने बाढीको त्रासदी उनलाई अहिले पनि याद आउँछ। हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो। परिवारसहितको बास त थियो त्यो तर आफ्नो स्वामित्व नभएको। सबैको नजरमा परेको तर देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने ठाउँ थियो त्यो। पानी, बिजुली, बाटोघाटो सबै अनौपचारिक।
ढल र फोहरमैला सिधैँ नदीमा मिसिंदा त्यसको दुर्घन्धले आफूहरुलाई मात्र नभई उपत्यकावासी नै पिरोलेको थियो। अनेक फोहरमैलासहित प्रदूषित पानी बग्ने बागमतीले डम्बरसहितका सुकुमवासीलाई कति थरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुन्जेल कसैलाई पत्तो हुने थिएन।
अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइले शरीरमा कहाँकहाँ समस्या पारेको छ। सुकुमवासीबीच सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कति जोखिममा थियो भनेर। सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा चार सय ९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो। त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३.५ प्रतिशतमा ग्याष्ट्रिक र सात प्रतिशतमा मानसिक समस्या र ४.५ प्रतिशतमा श्वास प्रश्वाससम्बन्धी देखिएको थियो।
सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अंक झन् बढ्यो तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ। चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये ३८.५ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइका क्रममा भएको देखियो। यसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए। दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेंगु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो। यसका अधिकांश कारण खोला किनारको जोखिमपूर्ण जीवन नै थियो।
प्रदूषित खानेपानी, फोहोर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुम्बासीहरुमा लामखुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वभाविकै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला बताउँछन्। सुकुम्बासी राखिएका छ वटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गरेका डा बाँस्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ। अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिइरहेको छ।
त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो चिज देख्न र पढ्न गाह्रो छ। उनलाई लागेको छ, अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यति बेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो। सेन्टरमा आएका चिकित्सकको परामर्शपछि उनी त्रिपुरेश्वस्थित आँखा अस्पताल गए। त्यहाँका चिकित्सकहरुले तिलगङ्गा आँखा अस्पतालमा थप उपचारका लागि जान सल्लाह दिएका छन्। अब त्यतै गएर उपचार गराउने सुरमा उनी छन्।
थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने थियो। अहिले सबैलाई अन्धकारबाट उज्यालोको खोजीमा बसे जस्तो भएको छ। ‘‘सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ने भनेकै छ, किन चिन्ता गर्नु ?’’, उनी भन्छन्। डम्बरकी पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि होल्डिङ सेन्टरमै भएको छ। पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीहरुले सुझाएका छन्।
करिब २० वर्ष थापाथलीको नदी किनारामा बिताएकी ५० वर्षे पुनम मगरलाई केही समयदेखि उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो। समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको पनि उनी बताउँछन् । ‘‘धेरै थरीको परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो”, उनी भन्छन्। त्यहाँबाट अस्पताल पुगेपछि भने महङ्गो औषधिहरु आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उनले सुनाए। अर्का सुकुम्बासी खिमबहादुर मगर अस्पताल पुगेपिछि औषिधि सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुमवासीको कुनै गुनासो नरहेको बताउँछन्।
होल्डिङ सेन्टरका सुकुम्बासीहरुमध्ये कतिपय दीर्घरोगी छन्। उनीहरुको नियमित स्वाथ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा भएको थिएन। सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरुले नियमित स्वाथ्य परीक्षण र परामर्श मात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन्। होल्डिङ सेन्टरमा भेटिएकी सुवासदेवी पासवान आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटो समेत प्राप्त भएको बताए।
प्रधानमन्त्रीको कार्यालयकी स्वकीय सचिवालयको उपसचिव प्रकृति ढकाल भन्छन्, ‘‘सुकुमवासीसँग गरिएको परामर्श र स्वास्थ परीक्षणबाट रोगमात्र पत्ता लागेको छैन, साथमा रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श निरन्तर भइरहेको छ।’’ उनले क्यान्सर, निमोनिया जस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको पनि जानकारी दिए। यस्ता जटिलता अन्य सुकुमवासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उनले बताए।
होल्डिङ सेन्टरमा ल्याइएका सुकुमवासीलाई नदी किनारको दैनिकीले शारीरिक मात्र होइन, मानसिक समस्याबाट पनि पीडित बनाएको छ। बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरुले विगतमा अव्यवस्थित र असुरक्षित बसाइले दुवै थरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन्। दैनिकी बितिरहेको ठाउँ एक्कासी छोडनुपर्दाको केहीले दुःख व्यक्त गरे पनि त्योभन्दा धेरै असुरक्षित बसोबासका कारण थुपै शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरुसँग उनीहरुले गरेका अभिव्यक्तिले त्यसको प्रमाण दिएको छ।
सुकुमवासीहरुमा पर्नसक्ने मानसिक समस्याको पहिचान र उपचारका लागि छ वटै होल्डिङ सेन्टरमा विशेषज्ञ टोलीसहित थुपै पटक पुग्नुभयो, मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् डा सुलभराज उप्रेती। उनी भन्छन्, ‘‘थापाथलीको जोखिमपूर्ण बसोबासलाई नै जीवन ठानेर बसेकाहरुलाई केही झट्का अवश्य लागेको छ। तर त्यस्तो बसोबासका कारण थुपै मनोवैज्ञानिक जटिलता भएकाहरु पनि उल्लेख्य देखिए।’’
मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्यता सम्मिलित टोलीले छ वटै शिविरका गरी छ सयभन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श गरेको थियो। ‘‘हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको सङ्ख्या उल्लेख्य थियो’’, उनी बताउँछन्।
कुराकानीकोबाट आएको निश्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पनि पाइएको जानकारी डा उप्रेती दिन्छन्। परामर्श र सहायतापछि थुपै व्यक्ति आफ्नो नियमित काममा फर्किन समेत थालेका छन्। आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उनीहरुलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता क्रमशः कम हुँदै गएको पाइएको छ।
मनो–सामाजिकविद्हरुको टोलीले ५५३ सुकुमवासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शपछि तयार गरिएको प्रतिवेदनमा विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२.८ प्रतिशत रहेछन्। ती मध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४.६ प्रतिशत रहेको उल्लेख छ। मानसिक समस्याकै कारण ३.३ प्रतिशत आत्महत्याबाट र ३.३ प्रतिशत मदिराजन्य समस्याबाट प्रतिशतले जीवन गुमाएका रहेछन्। त्यसरी खोला छेउ बस्दा कतिबेला के हुने हो भन्ने शान्ति त जीवनमा छँदै थिएन। करिब १२ प्रतिशतले आत्महत्याको सोच समेत बनाउन पुगेका रहेछन्। त्यस्तै सात प्रतिशतमा विशेष खालकै मनोरोग सेवा आवश्यक पर्ने अवस्था रहेको जनाइएको छ।
प्रतिवेदनका आधारमा चिकित्सकको टोलीले छ वटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिदै आएको छ। खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रुपमा होल्डिङ सेन्टर आइपुगेका सुकुम्बासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरुले महशुस गरेका छन्। सुकुम्बासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हेरेकसँगको कुराकानी, समस्या पहिचान र त्यसको विश्लेषणका आधारमा वर्षौंदेखि नदी किनारमा जोखिमपूर्ण जीवन बिताउने उनीहरुलाई अब जीवनले नयाँ मोड लिने आशा दह्रो गरी पलाएको देखिन्छ। –रूपेश आचार्य/रासस



प्रतिक्रिया