काठमाडौँ । ‘हामी फरक छौँ, हामी वैकल्पिक हौँ र हाम्रो उद्देश्य परम्परागत राजनीतिको सिन्डिकेट भत्काउनु हो ’- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाकालदेखि नै नेपाली जनमानसमा यही भाष्य निर्माण गरेर अघि बढ्यो । कांग्रेस, एमाले, माओवादी (हालको- नेकपा) जस्ता पुराना दलहरूको अकर्मण्यता, आन्तरिक लोकतन्त्रको अभाव र गुटबन्दीबाट आजित भएका जनताले यसलाई अनुमोदन पनि गरे ।
तर, आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन गइरहेको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशैभरि भइरहेका जिल्ला अधिवेशनहरूले भने रास्वपाको त्यो ‘नयाँपन’माथि गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ । पर्सा र सुनसरी जस्ता रणनीतिक जिल्लाहरूमा देखिएको आन्तरिक किचलो, कुटाकुट र प्राविधिक अवरोधहरूले के देखाउँछ भने पार्टीको नाम र चुनाव चिह्न नयाँ भए पनि रास्वपाको भित्री प्रवृत्ति र चरित्र ठ्याक्कै पुराना दलहरूकै जस्तो हुन थालेको छ ।
पर्साका कार्यकर्ताले बुझाएको ज्ञापन पत्र केवल एउटा कागजको पाना होइन; यो रास्वपाको नेतृत्वलाई भुइँतहका कार्यकर्ताले दिएको कडा चेतावनी हो। पुराना दललाई गाली गरेर थाकेका जनताले रास्वपाभित्रै पनि ‘टीकाप्रथा र बाहुबल’ देख्न थालेपछि “घण्टी” को आवाज मधुरो हुँदै जाने निश्चित छ।
शनिबार र आइतबार देशभरिका विभिन्न जिल्लाहरूमा रास्वपाले सांगठनिक शक्ति प्रदर्शन र नेतृत्व चयनका लागि अधिवेशनहरू तोकेको थियो । तर मधेश र कोशी प्रदेशका दुई महत्त्वपूर्ण जिल्लामा जे देखियो, त्यसले रास्वपाका शीर्ष नेताहरूलाई पक्कै पनि झस्काएको हुनुपर्छ ।
पर्साको ‘होटल गेटवे’ युद्ध
वीरगन्ज महानगरपालिका–९ स्थित होटल गेटवेमा पर्सा जिल्ला अधिवेशनको मनोनयन दर्ता चलिरहेको थियो । संस्थापन पक्षले एकलौटी ढंगले नेतृत्व हत्याउन खोजेको भन्दै असन्तुष्ट बनेको अर्को समूह हलभित्र प्रवेश गर्यो । सामान्य विवादबाट सुरु भएको झगडा अन्ततः मुक्कामुक्की र हातपातमा परिणत भयो ।
विवाद यतिमा मात्र सीमित रहेन, होटलभित्रको झडप सडकसम्म आइपुग्यो, जहाँ कार्यकर्ताहरूले एक–अर्कामाथि हेल्मेट प्रहार गरे । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले लाठीचार्ज नै गर्नुपर्यो । निर्वाचन टोलीमाथि नै हातपात भएपछि मनोनयन प्रक्रिया स्थगित गर्नुपर्ने लाजमर्दो अवस्था सिर्जना भयो । अधिवेशनकै क्रममा पर्सामा रास्वपाका दुई पक्षबिच झडप भएको छ। उक्त झडपका क्रममा रास्वपाका तीन जना कार्यकर्ता घाइते भएका थिए । ‘नयाँ र सभ्य’ पार्टीको दाबी गर्ने रास्वपाभित्र पद र नेतृत्वका लागि भएको यो कुटाकुटले पुराना राजनीतिक दलहरूको महाधिवेशनका बेला हुने हुलमुल र मारपिटको झल्को दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
केही दिनअघि मात्रै सम्पन्न भएको पालिका र वडा अधिवेशनहरूमा पनि देशका विभिन्न स्थानमा झडप र विवाद भएका थियो । पार्टीमा आफू अनुकूलका मान्छे सङ्गठनमा भित्र्याउने दाउपेचका कारण केही वडा र पालिकाहरूमा विवाद अझै साम्य हुन सकेको छैन । विवादकै कारण कतिपय वडा र पालिकाहरूमा त अझैसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन, जसले गर्दा पार्टीको सङ्गठनात्मक संरचना नै भद्रगोल बनेको अवस्था देखिएको छ।
विवादकै कारण बारा जिल्लाको अधिवेशन त पूर्वनिर्धारित समयमा सुरु हुनै सकेको छैन । आन्तरिक विवाद तीव्र भएपछि बाराको अधिवेशन आगामी जेठ २६ गतेका लागि सारिएको छ।
सुनसरीको लौकहीमा ‘हात हालाहाल’
यता कोशी प्रदेशको सुनसरी (लौकही सिटी हल) मा पनि दृश्य फरक रहेन । रास्वपाभित्रै पछिल्लो समय बलियो बन्दै गएको जेन–जी’ युवा समूह र असन्तुष्ट कार्यकर्ताहरूलाई पेलेर अघि बढ्न खोजेपछि संस्थापन पक्ष र आकांक्षीहरूबीच हात हालाहालको स्थिति बन्यो । यद्यपि सागर दाहाललाई सभापति चयन त गरियो, तर आन्तरिक असन्तोषको भुसको आगो अझै निभेको छैन । लौकहीमा सम्पन्न अधिवेशनका क्रममा प्रतिनिधि विवाद चर्किएपछि शनिबार केहीबेर तनाव भएको थियो। हात हालाहाल र विवादका बीच धर्ना, धकेला-धकेलसमेत हुन पुग्यो। सोही अवस्थामै निर्वाचन प्रक्रिया अघि बढाएर नयाँ नेतृत्व चयन गरियो।
पुराना दलहरूकै हविगततर्फ रास्वपा
कांग्रेस, एमाले वा माओवादीका अधिवेशनहरूमा हुने जस्तै गुटबन्दी, पेलपाल र भौतिक आक्रमण रास्वपामा पनि देखिनुले पार्टी विचार वा पद्धतिभन्दा पनि सत्ता र पदको आकांक्षामा केन्द्रित हुँदै गएको पुष्टि गर्छ ।
‘जब कुनै दलले नीति र विचारको जगभन्दा ‘पपुलिजम’ र ‘मास सेन्टिमेन्ट’का आधारमा संगठन विस्तार गर्छ, तब स्थानीय तहमा पुग्दा त्यसले विचार होइन, अहम् र स्वार्थको टकराव मात्र पैदा गर्छ । रास्वपामा हिजो पुराना दलबाट असन्तुष्ट भएर आएका वा अवसर नपाएकाहरूको बाहुल्य बढ्दै जाँदा उनीहरूले पुराना दलकै ‘अधिवेशन संस्कृति’ रास्वपामा भित्र्याएको राजनीतिक विश्लेषकहरुको ठहर छ ।
रास्वपामा संगठनको आकार जति फैलँदै छ, उति नै शीर्ष नेतृत्वको नियन्त्रण र अनुशासन फितलो बन्दै गएको छ । विभिन्न जिल्लामा देखिएको किचलो यसकै प्रमाण हुन् ।
पुराना दलको जस्तो हविगतबाट कसरी मुक्त हुने ?
रास्वपा अझै पनि पूर्ण रूपमा बिग्रिसकेको छैन । यो यसको प्रारम्भिक सांगठनिक अभ्यास मात्र हो । तर, बेलैमा चेत नखुल्ने हो भने यसको हविगत पनि पुराना दलहरूको जस्तै हुने अवस्था आउन सक्छ । यसबाट मुक्त हुन रास्वपाले तत्काल निम्न कदमहरु चाल्न जरुरी छ–
क. प्राथमिक निर्वाचनको वास्तविक प्रयोग
रास्वपाले केन्द्रमा प्राइमरी निर्वाचनको नारा दिए पनि जिल्ला तहमा पुग्दा त्यो पुरानै टीका लगाउने वा बाहुबल देखाउने शैलीमा परिणत भएको देखियो । पार्टीले आफ्ना जनप्रतिनिधि वा सांगठनिक पदाधिकारीहरूले बदमासी गरेमा फिर्ता बोलाउन सक्ने व्यवस्थालाई कागजातमा मात्र सीमित नगरी तल्लो तहकै कार्यविधिमा कडाइका साथ लागू गर्नुपर्छ ।
ख. असन्तुष्टिको तत्काल व्यवस्थापन
पार्टीभित्र फरक मत राख्ने, विशेषगरी नयाँ युवा पुस्ता र ग्रासरुटका कार्यकर्ताहरूका लागि आन्तरिक गुनासो सुनुवाइ समिति सक्रिय बनाइनुपर्छ, जसले विवादलाई सडकसम्म पुग्नुअघि नै हल गरोस् ।
ग. राजनीतिक प्रशिक्षण र विचारको स्पष्टता
रास्वपामा वैचारिक स्पष्टताको चरम अभाव छ, जसले गर्दा कार्यकर्ताहरू केवल रवि लामिछाने वा बालेन शाहसँगको सम्भावित सहकार्यको आकर्षण हेरेर पार्टीमा आएका छन्, राजनीतिक संस्कार सिकेर होइन । पार्टीले कार्यकर्ताहरूलाई लोकतान्त्रिक अभ्यास, भद्र व्यवहार र अनुशासनबारे गहन प्रशिक्षण दिनु अनिवार्य छ ।
घ. कानुनी र अनुशासनको कठोर डण्डा
पार्टीको आन्तरिक चुनावमा हेलमेट हान्ने, ढुङ्गामुढा गर्ने र निर्वाचन टोलीमाथि हातपात गर्ने जोसुकै किन नहोस्, उनीहरूलाई तत्काल निलम्बन वा निष्कासन गर्ने आँट केन्द्रीय नेतृत्वले देखाउनुपर्छ । पुराना दलहरूले गुण्डागर्दी गर्ने कार्यकर्तालाई संरक्षण गरेकै कारण आज उनीहरू बद्नाम भएका छन्, रास्वपाले त्यो गल्ती दोहोर्याउनु हुँदैन ।
रास्वपाले ७७ मध्ये ६७ जिल्लामा महाधिवेशनअगावै नेतृत्व चयन गर्न खोज्नु उसको सांगठनिक सक्रियताका हिसाबले सुखद् हो । सागर दाहाल, ओम भण्डारी, भरत कँडेल जस्ता युवाहरू जिल्ला नेतृत्वमा आउनु सकारात्मक पक्ष हो । तर, पर्साको सडकमा पछारिएका हेलमेटहरू र सुनसरीमा चलेका मुक्काहरूले रास्वपाको घण्टीमा खिया लाग्न थालेको संकेत गरेका छन् ।
चितवन महाधिवेशन केवल नेतृत्वको देवत्वकरण गर्ने र ताली बजाउने थलो मात्र बन्यो भने रास्वपाको भविष्य पनि धमिलो हुनेछ । नयाँ दलले पुराना दललाई गाली गरेर मात्र पुग्दैन, आफ्नो आचरणमा पनि ‘हामी फरक छौँ’ भन्ने प्रमाणित गरेर देखाउनुपर्छ । अधिवेशनका क्रममा केही जिल्लामा देखिएको किचलो रास्वपाका लागि सच्चिने अन्तिम चेतावनी हो ।



प्रतिक्रिया