वासिङ्टन, २५ जेठ । मध्यपूर्वमा इरान–इजरायलबीच तनाव पुनः चुलिँदै गएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले इरानसँग गर्ने कुनै पनि सम्भावित सम्झौता स्वीकार गर्नुपर्ने बताएको छ । इरानले युद्धविरामपछि पहिलोपटक इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको घटनापछि केही घण्टामै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
फाइनान्सियल टाइम्ससँगको टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी नीति अन्तिम रूपमा वासिङ्टनले निर्धारण गर्ने स्पष्ट सङ्केत दिँदै नेतान्याहुसँग ‘अमेरिकाले गरेको सम्झौता स्वीकार गर्नुबाहेक अर्को विकल्प नरहने’ बताए । उनले इजरायलको निर्णय प्रक्रियामा निर्णायक भूमिका अमेरिकाकै रहने दाबी पनि गरे ।
इरानसँगको वार्तामा कुनै पनि प्रगति भए पनि त्यसमा हालको आक्रमणले असर नपार्ने ट्रम्पले स्पष्ट पारे । उनका अनुसार कूटनीतिक संवाद जारी रहनेछ र तनावका बीच पनि सम्झौताका ढोका खुला रहनेछन् ।
यसअघि इरानले सोमबार इजरायलतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यसलाई अप्रिलको युद्धविरामपछि पहिलो प्रत्यक्ष आक्रमण मानिएको छ । यस घटनालाई युद्धविराम उल्लङ्घनको सबैभन्दा गम्भीर घटना मानिएको छ ।
इजरायली रक्षा बल (आइडीएफ) ले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र पहिचान गरिएको र ती रोक्न प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ । देशका विभिन्न भागमा साइरन बजाइएको र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो ।
इजरायली वायु सेना (आइएएफ) ले पनि आक्रमणको पुष्टि गर्दै आफ्नो रक्षा प्रणाली सक्रिय भएको जनाएको छ । मोबाइल फोनमार्फत प्रभावित क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो र अर्को सूचना नआएसम्म त्यहीँ रहन आग्रह गरिएको थियो ।
हालसम्म प्राप्त जानकारीअनुसार आक्रमणबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन । यद्यपि केही स्थानमा क्षेप्यास्त्र खस्दा सामान्य क्षति भएको आशङ्का गरिएको छ ।
यसैबीच अमेरिकी सञ्चारमाध्यम एक्सियोसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच आइतबार टेलिफोन वार्ता भएको जनाएको छ । उक्त वार्तामा ट्रम्पले इरानको आक्रमणको बदलामा तत्काल प्रतिकार नगर्न नेतान्याहुलाई आग्रह गरेको बताइएको छ ।
यसअघि आइतबार इजरायलले लेबनानको राजधानी बेरुतस्थित दहियाह क्षेत्रमा रहेको हिज्बुल्लाहको मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । हिज्बुल्लाहले आफ्नो क्षेत्रबाट इजरायलतर्फ गोली प्रहार गरेपछि इजरायलले जवाफी कारबाही गरेको बताइएको छ ।
इरानको पछिल्लो आक्रमण र त्यसपछि ट्रम्पको कडा राजनीतिक अभिव्यक्तिले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । एकातर्फ अमेरिका इरानसँग सम्भावित सम्झौता अघि बढाउने प्रयासमा छ भने अर्कोतर्फ इजरायलसँगको रणनीतिक समन्वयलाई पनि सन्तुलनमा राख्ने दबाबमा देखिएको छ । रासस



प्रतिक्रिया