विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका १३ जिल्लामा आफ्नो पहिलो जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। विवादका कारण केही समय रोकिएको उदयपुरको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भइरहेको छ।
रास्वपा कोशी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख लालविक्रम थापाका अनुसार अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ। जसअन्तर्गत झापाको सभापतिमा ओम भण्डारी, मोरङमा भरत कँडेल र सुनसरीमा सागर दाहाल निर्वाचित भएका छन्। मोरङका कँडेल र सुनसरीका दाहाल यसअघि पनि जिल्ला संयोजककै जिम्मेवारीमा थिए।
सुनसरीमा विवादका बीच नेतृत्व चयन
अधिवेशनका क्रममा सुनसरी जिल्लामा भने केही तनावपूर्ण स्थिति सिर्जना भएको थियो। आन्तरिक विवादका कारण दुई पक्षबीच हात हालाहालको अवस्था बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। पछि प्रहरी र जिम्मेवार नेताहरूले दुवै पक्षलाई सम्झाई–बुझाई गरेपछि शनिबार मात्र नयाँ नेतृत्व चयन सम्भव भएको हो।
कहाँ को चुनिए जिल्ला सभापति ?
कोशी प्रदेशका अधिकांश जिल्लामा सर्वसम्मत र केहीमा चुनावी प्रक्रियाबाट नेतृत्व छानिएको छ–
सर्वसम्मत चुनिएका जिल्लाहरू
ताप्लेजुङमा राजनकुमार गुरुङ, तेह्रथुममा सुमन खत्री, संखुवासभामा भक्तनारायण श्रेष्ठ, खोटाङमा मुकुन्दकृष्ण थापा, सोलुखुम्बुमा नारायणकाजी कार्की, पाँचथरमा प्रकाश गुरुङ र धनकुटामा भुवन थापा निर्विरोध निर्वाचित भएका छन्।
प्रतिस्पर्धाबाट चुनिएका जिल्लाहरू
भोजपुरमा ख्यामबहादुर भुजेल, ओखलढुङ्गामा कृष्णबहादुर थापा र इलाममा दिनेश महत सभापति पदमा निर्वाचित भएका छन्।
उदयपुरमा भने आइतबार विवाद बढेपछि निर्वाचन प्रक्रिया नै रोकिएको थियो। सोमबार पुनः प्रक्रिया सुरु गरी नयाँ नेतृत्व चयन गरिने प्रदेश महामन्त्री थापाले जानकारी दिए।
प्यानल चुनावमा रोक, भित्रभित्रै रवि पक्षकै बर्चस्व
रास्वपाले यसपटक जिल्ला अधिवेशनमा समूह बनाएर निर्वाचन लड्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो। व्यक्तिगत रूपमा मात्र चुनाव लड्न पाउने नियमका कारण पार्टीभित्र चर्चामा रहेको बालेन शाह समूह र रवि लामिछाने समूह सतहमा छुट्टिएर आउन पाएनन्।
तर, प्यानल नभए पनि भित्रभित्रै कोशी प्रदेशका सबैजसो जिल्लामा पार्टी सभापति रवि लामिछाने निकट मानिएका नेताहरू नै सभापतिमा चुनिएको रास्वपा स्रोतले दाबी गरेको छ।
जेठ २७ मा प्रदेश अधिवेशन, ३ हजार प्रतिनिधि सहभागी हुने
जिल्ला अधिवेशनको चटारो सकिएलगत्तै रास्वपा कोशी प्रदेश कमिटी पहिलो प्रादेशिक अधिवेशनको तयारीमा जुटेको छ। महामन्त्री थापाका अनुसार आगामी जेठ २७ गते मोरङको सुन्दरहरैचामा पहिलो प्रदेश अधिवेशन हुने तय भएको छ।



प्रतिक्रिया