गुरुङ र पुन दोस्रो पटक मन्त्रीमा नियुक्त : लिए पद तथा गोपनियताको शपथ


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुन् ।

उनीहरू दुवै जनाको सरकारमा दोस्रो पटक मन्त्रीमा नियुक्त भएको हो ।

गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । शंकास्पद सम्पत्ति र व्यवसायी दीपक भट्टसँगको सम्बन्धका कारण विवादमा परेपछि वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । सम्पत्ति विवरणमा प्रश्न उठेपछि गुरुङमाथि अनुसन्धान गर्न गठित छानबिन समितिले गत शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेसँगै उनलाई पुनः नियुक्ति गर्ने निर्णय गरिएको हो। छानबिन समितिले जग्गा खरिदमा वास्तविक थैली अङ्क छलेको र जग्गा पास गर्दा गुरुङ स्वयं उपस्थित नभएको उल्लेख गरेको छ। 

पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।

उनले २०८२ माघ ६ गते पदबाट राजिनामा दिएका थिए । राजीनामा दिएलगत्तै उनले म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

Skip This

Omoda E5 Pro