एकैसाथ दस हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने तयारीमा सरकार


काठमाडौँ । रास्वपाको वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले एकैसाथ दस हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने तयारी गरेको छ । ५५ वर्ष उमेर वा सेवा अवधि ३० वर्ष पूरा गरेका निजामती कर्मचारीलाई सरकारले अवकाशमा पठाउने भएको हो  ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ ।

जस अनुसार ऐन लागू हुने मितिमा ५५ वर्ष उमेर पूरा भएका वा सेवा अवधि ३० पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

विधेयकले ऐनको रूप लिए एकै पटक १० हजार भन्दा बढी कर्मचारी अवकाशमा जाने निजामती किताबखानाले जानकारी दिएको छ । प्रत्येक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या २ हजारदेखि ३ हजारसम्म हुन्छ ।

किताबखानाको तथ्यांकअनुसार चालु आव ०८२/८३ मा अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या २ हजार २ सय ११ छ । ५५ वर्ष उमेर वा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानुन आए तीबाहेक १० हजार कर्मचारीले बिदा पाउनेछन् ।

Skip This

Omoda E5 Pro