काठमाडौं, जेठ २९ । थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। तीन वर्षभन्दा बढी समयदेखि अचेत अवस्था (कोमा) मा रहेकी उनको बिहीबार राति निधन भएको थाइ शाही दरबारले पुष्टि गरेको छ।
सन् २०२२ को डिसेम्बरमा व्यायाम गर्ने क्रममा अचानक ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूका अनुसार मुटुमा भएको माइकोप्लाज्मा संक्रमणका कारण उनको मुटुको धड्कन अनियन्त्रित बनेको थियो । जसले गर्दा उनी कोमामा पुगेकी थिइन्।
लामो समयसम्म सघन उपचार कक्षमा राखेर प्रयास गरिए पनि उनको स्वास्थ्यमा कुनै सुधार आउन सकेन। राजकुमारी बज्रकितियाभा थाइल्याण्डका राजा वजिरालोङकोर्नका सात सन्तानमध्ये जेठी छोरी हुन्। उनी एक शिक्षित र प्रभावशाली व्यक्तित्व थिइन्। उनले अमेरिकाको प्रतिष्ठित कर्नेल विश्वविद्यालयबाट कानुन विषयमा उच्च शिक्षा हासिल गरेकी थिइन्।
राजगद्दीको सम्भावित उत्तराधिकारीका रूपमा समेत हेरिएकी जेठी राजकुमारीको निधनले थाइल्याण्ड शोकमा डुबेको छ। उनको निधनसँगै थाइल्याण्डको आगामी शाही उत्तराधिकार कसले सम्हाल्छ भन्ने विषय थप चर्चामा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



प्रतिक्रिया