बागलुङ । बागलुङको विकट तर गौरवशाली इतिहास बोकेको ताराखोला गाउँपालिका यतिबेला नीतिगत बहस र पालिका समीक्षाको केन्द्रमा छ । भर्खरै सम्पन्न पालिका समीक्षा बैठकमा प्रखर पत्रकार तथा स्वतन्त्र नागरिक अभियानका केन्द्रीय अध्यक्ष ऋषि धमलाको विशेष उपस्थिति रह्यो । पत्रकारितामा आफ्नो आक्रामक र ‘टू द पोइन्ट’ शैलीका लागि देशैभरि चर्चित धमलाले ताराखोलाको माटोमा पुगेर विकास र समृद्धिको एउटा नयाँ र क्रान्तिकारी मार्गचित्र प्रस्तुत गरेका छन् ।
शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन
कार्यक्रममा आफ्नो चिरपरिचित र ओजस्वी शैलीमा प्रस्तुत हुँदै अध्यक्ष धमलाले भने, “अहिलेको मुख्य कुरा के हो भने, जनताले कुरा होइन, काम खोजेका छन् । ताराखोलाका जनताले विकास, समृद्धि र शिक्षामा तत्काल ठूलो सुविधा खोजेका छन् !” धमलाले देशव्यापी रूपमा चलाएको स्वतन्त्र नागरिक अभियानको मुख्य एजेन्डा नै शिक्षा र स्वास्थ्यको ग्यारेन्टी भएको उल्लेख गर्दै सामुदायिक विद्यालय र स्थानीय स्वास्थ्य संस्थालाई सक्षम नबनाएसम्म कुनै पनि गाउँपालिका सबल हुन नसक्ने ठोकुवा गरे । स्थानीय जनप्रतिनिधि र वडाध्यक्षहरूको कामको मसिनो गरी मूल्यांकन गर्दै उनले थपे, “तपाईंहरूले वडा तहमा देखिएका समस्यालाई राम्ररी उठान त गर्नुभएको छ, म यसको कदर गर्छु । तर, जति हुनुपर्ने थियो, त्यति अझै हुन सकेको छैन । जनतालाई वास्तविक राहत दिन र उनीहरूको अनुहारमा खुसी ल्याउन शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ र यसका लागि मेरो अभियान निरन्तर जारी रहनेछ ।”
ताराखोला समृद्धिको दुई आधार: हाइड्रो र आन्तरिक पर्यटन
आफ्नो विश्लेषणात्मक प्रस्तुतिमा धमलाले ताराखोला गाउँपालिकाको भौगोलिक बनावट र यहाँका प्राकृतिक स्रोतहरूको गम्भीर चिरफार गरे । उनीसँग देशका ठूला विकासविद्हरूको भन्दा कम योजना थिएनन् । ताराखोलाको आर्थिक मेरुदण्डको रूपमा जलविद्युत (हाइड्रो पावर) र पर्यटन (टुरिजम) रहेको उनले प्रस्ट पारे ।
“ताराखोलासँग अथाह सम्भावना छ । यहाँ हाइड्रोको ठूलो स्कोप छ र टुरिजममा त यो क्षेत्र एउटा हिरा जस्तै हो । बाह्य मात्र होइन, आन्तरिक पर्यटनलाई मात्रै चलायमान बनाउन सकियो भने पनि ताराखोलाले कसैसँग हात फैलाउनु पर्दैन,” धमलाले दाबी गरे ।
इमानदार नेतृत्वको प्रशंसा
सधैं नेताहरूलाई र्याखर्याख्ती पार्ने धमला ताराखोलाका जनप्रतिनिधिको कार्यशैली र इमानदारिता देखेपछि भने निकै गद्गद् र सकारात्मक देखिए । नेताहरूमा इमानदारिता भए देश बदल्न समय लाग्दैन भन्ने आफ्नो बलियो मान्यतालाई उनले फेरि दोहोर्याए ।
स्थानीय नेतृत्वको खुलेर प्रशंसा गर्दै धमलाले भने, “मलाई यहाँ आएर असाध्यै खुसी लागेको छ । एउटा नेता इमानदार भयो भने सिङ्गो देश विकास हुन्छ । यहाँका जनप्रतिनिधिहरूले जसरी काम गरिरहेका छन्, जसरी विकासको गति अगाडि बढेको छ, यो देखेर म निक्कै मख्ख परेको छु, मलाई गर्व लागेको छ !”
कृषि क्रान्ति: उत्पादन उत्कृष्ट, ब्रान्डिङ र बजारीकरण मुख्य चुनौती
ताराखोलाका किसानहरूको मिहिनेतको कदर गर्दै धमलाले कृषि क्षेत्रको एउटा कडा सत्य पनि उजागर गरे । ताराखोलामा कृषि उत्पादन निकै राम्रो र अर्गानिक भए पनि किसानहरूले उचित बजार नपाएकोमा उनले चिन्ता व्यक्त गरे ।
अबको बाटो परम्परागत खेती मात्र नभएर आधुनिक बजारीकरण हुनुपर्नेमा जोड दिँदै उनले गाउँपालिकालाई स्पष्ट सुझाव दिए- ताराखोलाको स्थानीय उत्पादनलाई ब्रान्डिङ र बजारीकरण गर्न गाउँपालिकाले अभिभावकको भूमिका खेल्नुपर्छ । यदि उत्पादनलाई देश र विदेशका ठूला बजारसम्म पुर्याउन पालिकाले सहयोग गर्ने हो भने ताराखोला गाउँपालिका देशकै लागि एउटा “नमुना गाउँपालिका” बन्ने कुरामा दुईमत नरहेको भन्दै उनले आफ्नो सम्बोधन टुङ्ग्याए ।
ऋषि धमलाको यो तार्किक र उर्जावान् सम्बोधनले ताराखोलाका जनप्रतिनिधि र स्थानीय जनतामा नयाँ ऊर्जा मात्र थपेको छैन, गाउँपालिकालाई समृद्धिको उचाइमा पुर्याउन एउटा स्पष्ट मार्गचित्रसमेत कोरिदिएको छ ।



प्रतिक्रिया