पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित


तानसेन (पाल्पा), २९ जेठ । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको छ ।

निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने क्रममा रहेका हुन् ।

बढी फल्ने वर्णशङ्कर (हाइब्रिड) जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका उक्त धान विलुप्तोन्मुख हुन गएका हुन् ।

यहाँस्थित धानका जातमध्येको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ । माडीफाँटाका ५८ वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको च्युराको स्वाद अझै बिर्सन नसकिने बताउँछन् ।

“सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ”, उनले भने, “अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जाँदा खल्तीभरि त्यही च्युरा भरेर खाँदै पुग्ने गर्दथ्यौँ, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।”

अर्गेलीका किसान शोभाकर न्यौपानेले अनदीको धान बीउका रूपमा जोगाउन मुस्किल पर्दै गएको बताउँछन् । माथागढी गाउँपालिका कसेनीका किसान दिलबहादुर रानाले एक दशकदेखि बजारबाट हाइब्रिड जातका धानको बीउ खरिद गर्दै आएका छन्।

उनी हरेक वर्ष करिब चार हजार बराबरको बीउ खरिद गर्छन् । हाइब्रिड बीउले बढी उत्पादन दिने भएकाले अन्य जात प्रयोग गर्न उनले छोडेका हुन् ।

बगनासकाली गाउँपालिका नायरका किसान नवराज बस्याल र माथागढी कसेनीकै विष्णु कुँवरको अनुभव पनि उस्तै छ ।

“पहिलेभन्दा धेरै उत्पादन हुन थालेपछि हामीले हाइब्रिड बीउलाई निरन्तरता दिएका छौँ”, उनले भने । कृषि ज्ञान केन्द्र पाल्पाका वरिष्ठ बागवानी अधिकृत मनिष पौडेलले स्थानीय समुदायको सक्रिय सहभागिता र सरकारी सहयोगबाट लोपोन्मुख स्थानीय धानलाई पुनर्जीवित गर्न सकिने सम्भावना रहेको बताए । पौडेलको भनाइ । पाल्पामा सात हजार ३९५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

Skip This

Omoda E5 Pro