प्रधानमन्त्रीको अनुपस्थिति व्यक्तिगत रुचि र लहडको विषय होइन : अर्जुननरसिंह केसी


काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको संसद्‌मा निरन्तरको अनुपस्थिति र मौनताप्रति गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले संसद्‌मा उपस्थित हुने वा नहुने विषय प्रधानमन्त्रीको व्यक्तिगत रुचि वा लहडको विषय नभएको टिप्पणी गरे ।

संसद्‌मा प्रश्न उठाउनु नागरिकको अधिकार र सांसदको विशेषाधिकार भएको उल्लेख गर्दै नेता केसीले प्रश्न गर्ने सांसदलाई धम्क्याउने प्रवृत्ति बढेको भन्दै आक्रोश पोखे ।

सांसद केसीले संसद् धम्की, नाराबाजी वा प्रदर्शनको थलो नभई तर्क, बहस र नीतिगत विमर्शको मञ्च भएको स्मरण गराए । राष्ट्रियताजस्तो गम्भीर विषयमा संसद्‌मा छलफल भइरहँदा पनि कार्यकारी प्रमुख निरन्तर अनुपस्थित रहनु संसद् र जनताप्रतिको उपेक्षा भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले संसद्‌प्रतिको जबाफदेहिता पन्छाउन खोजेको आरोप लगाउँदै केसीले भने, ‘प्रधानमन्त्रीको दायित्व वारेसमार्फत निर्वाह गरिनु संसद्प्रतिको घोर अपमान र खेदजनक कार्य हो ।’

राज्यका संयन्त्रहरूमा शक्ति केन्द्रीकृत गरिँदै लगिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले स्थापित संसदीय अभ्यास तथा संस्थागत गरिमालाई कमजोर बनाउने यस्ता प्रवृत्तिले मुलुकमा अस्थिरता र निरंकुशता निम्त्याउने सङ्केत गरेको दाबी गरे ।

Skip This

Omoda E5 Pro