सङ्कटमा माझी र बोटे समुदायको परम्परागत पेसा

File Photo

स्याङ्जा ।  स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध बनेपछि माझी र बोटे समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ। बाँधका कारण माछाको आवागमन प्रभावित हुँदा नदीमा माछा घटेको र माछा मारेर जीविकोपार्जन गर्ने समुदायको आम्दानी घटेको हो।

मिर्मीका दिलबहादुर बोटेका अनुसार पहिले माछा प्रशस्त पाइने नदीमा अहिले जाल थाप्दा पनि माछा नपर्ने अवस्था छ। माछा मार्ने पेसा छाडेर स्टिमर चालक बने पनि सडक सञ्जाल विस्तारसँगै जलयात्रामा यात्रु घट्दा त्यो व्यवसायसमेत प्रभावित भएको छ।

स्थानीय मोहन बोटेले पनि यात्रु अभावका कारण आम्दानी घटेको भन्दै माझी समुदायको उत्थानका लागि राज्यले ध्यान दिनुपर्ने बताए। कालीगण्डकी गाउँपालिका–७ मा मात्र माछा मार्ने पेसामा आबद्ध माझी र बोटे समुदायका ३८ घरपरिवार छन्।

समुदायका अगुवाले जलासय क्षेत्रमा पर्यटक र तीर्थयात्रीका लागि डुङ्गा सयर सञ्चालनको अनुमति दिए परम्परागत पेसासँगै जीविकोपार्जन गर्न सहज हुने बताएका छन्। रासस