केयुको उपकुलपतिमा दश दिनभित्र दरखास्त दिन आह्वान


काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो ।

समितिले जारी गरेको सूचनाअनुसार पहिलोपटक सूचना प्रकाशित भएको मितिले दश दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । इच्छुक उम्मेदवारहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको लिंकमार्फत अनलाइन दरखास्त पेश गर्न सक्ने समितिले जनाएको छ ।

उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनका लागि केयूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम प्रक्रिया अघि बढाइएको समितिले उल्लेख गरेको छ ।

कार्यविधिअनुसार प्राप्त आवेदनहरूमध्येबाट समितिले योग्य उम्मेदवारहरूको सर्टलिस्ट तयार गरी आवश्यक प्रक्रिया पूरा गरेर नियुक्तिका लागि नाम सिफारिस गर्नेछ ।