नेकपाका नेता कृष्ण बहादुर महराले गरे पार्टी परित्याग


काठमाडौँ । पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।

लामो समयदेखि देखिएको शारीरिक समस्याका कारण पार्टीका जिम्मेवारीहरू प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएको विज्ञप्ति उल्लेख गरेका छन्।

महराले करिब ४ दशक लामो राजनीतिक यात्रामा विभिन्न चरणका आन्दोलन, संघर्ष र परिवर्तनका अभियानमा निरन्तर सहभागी भएको स्मरण गरेका छन्। उनले पार्टी, आन्दोलन र देशप्रति आफूले सकेको योगदान दिएको भन्दै यस अवधिमा जनताको माया, विश्वास र साथ प्राप्त गरेको बताएका छन्।

वक्तव्यमा उनले आफू ‘एट्रोफी’ सम्बन्धी रोगबाट पीडित रहेको खुलाएका छन्। यस रोगका कारण नसाहरू र मांसपेशीहरू कमजोर बन्दै गएको र नियमित उपचार तथा औषधि सेवन गर्दा पनि अपेक्षित सुधार हुन नसकेको उनले बताएका छन्।

यही स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनले पार्टीका सक्रिय जिम्मेवारीबाट अलग भई अब साधारण सदस्यका रूपमा रहने निर्णय गरेको जानाकारी दिएका छन् । उनले यो निर्णय कुनै असन्तुष्टि वा वैचारिक मतभेदका कारण नभई स्वास्थ्य अवस्थाका कारण बाध्य भएर लिनुपरेको स्पष्ट पारेका छन्।