वासिङ्टन डिसी । पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबिच सम्झौता भएसँगै अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपतिको निर्देशन बमोजिम नाकाबन्दी अन्त्य गरिएको सामाजिक सञ्जाल एक्समार्फत पुष्टि गरेको छ । यद्यपि, केही अमेरिकी सैन्य जहाजहरू भने अझै पनि त्यस क्षेत्र आसपास रहने कमान्डले जनाएको छ ।
नाकाबन्दी हटेको केही समयपछि इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले ओहोदा सम्हालेयता पहिलोपटक आफ्नो प्रतिक्रिया दिएका छन् । उनले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक मत भए पनि देशको हित रक्षा गर्ने राष्ट्रपतिको आश्वासनपछि यसलाई अनुमोदन गरेको बताएका छन् ।
गत फेब्रुअरीमा अमेरिकी र इजरायली हवाई आक्रमणमा आफ्ना पिता एवं तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि मोज्ताबाले कार्यभार सम्हालेका थिए, तर उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाध्य भएर सम्झौताका लागि सबै उपाय प्रयोग गरेको टिप्पणी गर्दै भविष्यमा हुने वार्ताको अर्थ शत्रुको अडानलाई स्वीकार गर्नु नरहेको स्पष्ट पारेका छन् ।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले खामेनीको भनाइमा सीधा टिप्पणी नगरे पनि लेबनानको हिजबुल्लाह र इजरायलसहितका सबै मोर्चामा पूर्ण युद्धविराम लागू हुने अपेक्षा गरेका छन् । ट्रम्पले पश्चिम एसियाका देशहरूले वार्ता प्रक्रियालाई अगाडि बढाउन आफ्नो प्रतिबद्धता कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।
इरान र अमेरिकाबिच भएको यस सम्झौतामा मुख्य १४ बुँदा समेटिएका छन् । यस अन्तर्गत स्ट्रेट अफ होर्मुजको मार्ग पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने उल्लेख छ । तर, यस कोषमा अमेरिकाले रकम जम्मा गर्नुपर्ने बाध्यता भने छैन । दुवै पक्ष आगामी बढीमा ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्नुपर्नेछ र सहमति अनुसार यो अवधि थप गर्न सकिने व्यवस्था छ ।
यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह स्विट्जरल्यान्डमा हुने तय भए पनि मध्यस्थकर्ता पाकिस्तानका अनुसार डिजिटल माध्यमबाट पहिले नै हस्ताक्षर भइसकेकाले औपचारिक समारोह रद्द भएको छ । यद्यपि, प्राविधिक र थप वार्ताका लागि दुवै देशका प्रतिनिधि स्विट्जरल्यान्डमै भेट्ने तय भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता लागू भइसकेको र ६० दिने वार्ताको अवधि सुरु भएको जानकारी दिएका छन् ।
यसैबिच, ट्रम्पको यो कदमको अमेरिकाभित्रै, विशेष गरी रिपब्लिकन सांसदहरूबाट तीव्र आलोचना सुरु भएको छ । रिपब्लिकन सिनेटर बिल क्यासिडीले यो सम्झौतालाई दशकौँकै सबैभन्दा ठुलो कूटनीतिक गल्तीको संज्ञा दिएका छन् । उनले इरानको आणविक महत्त्वाकाङ्क्षालाई रोक्न नसकिएको र धम्कीको राजनीति सफल हुन्छ भन्ने सन्देश इरानले पाएको दाबी गरेका छन् ।
आलोचनाको प्रतिवाद गर्दै अमेरिकी उपराष्ट्रपति भान्सले इरानले सम्झौताका सर्तहरू पूरा नगरेसम्म कुनै पनि रकम वा प्रतिबन्धहरूमा छुट नपाउने स्पष्ट पारेका छन् । सम्झौता अन्तर्गत इरानले आफ्नो संवर्धित युरेनियमको भण्डार नष्ट गर्नुपर्ने र क्षेत्रीय लडाकु समूहहरूलाई आर्थिक सहयोग बन्द गर्नुपर्ने सर्त रहेको उनले बताए ।
भान्सले यस सम्झौताको विरोध गर्ने इजरायली मन्त्रीहरूको पनि कडा आलोचना गरेका छन् । उनले इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिर र वित्त मन्त्री बेजालेल स्मोट्रिचलाई लक्षित गर्दै उनीहरूसँग यो समस्याको अर्को के विकल्प छ भनी प्रश्न गरेका छन् ।
भान्सले भने, ‘तपाईँ नौ लाख जनसङ्ख्या भएको देश हुनुहुन्छ । हरेक राष्ट्रिय सुरक्षा समस्याको समाधान केवल मान्छे मारेर मात्र सम्भव हुँदैन ।’ उनले इजरायललाई आफ्नो एकमात्र शक्तिशाली मित्र राष्ट्रमाथि प्रहार नगर्न र वास्तविकता बुझ्न आग्रह गर्दै बेरुतमा सर्वसाधारण मारिने गरी भएका आक्रमणहरू स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धका क्रममा अमेरिकाले इजरायललाई दिएको दह्रो साथको प्रशंसा गर्दै सम्बन्धको महत्त्वमा जोड दिएका छन् । तर, इजरायल र हिजबुल्लाह दुवैले यो सम्झौताको भावना विपरीत एकअर्कामाथि आक्रमण जारी राखेका छन् । इजरायलले हिजबुल्लाहसँगको आफ्नो लडाइँ इरानसँगको युद्धभन्दा फरक भएको तर्क गरेको छ भने हिजबुल्लाहले पनि यो सम्झौताका सर्तहरूलाई अस्वीकार गरेको छ ।



प्रतिक्रिया