काठमाडौं, असार ६। वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आज भोटो प्रदर्शन (भोटो जात्रा) सम्पन्न भएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथिअनुसार करिब दुई महिनासम्म मनाइने गरिन्छ।
गत वैशाख ८ गते ललितपुरको पुल्चोकबाट सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको देवतालाई ३२ हात अग्लो रथमा विराजमान गराई परिक्रमा गराइएको थियो। रथ पुल्चोक, गाः बहाल, मङ्गलबजार, सुनधारा, लगनखेल हुँदै ठटीटोलसम्म पुर्याइएको थियो। परम्पराअनुसार तिथि हेराई ठटीटोलबाट रथलाई पश्चिमतर्फ तानेर जावलाखेल ल्याइन्छ र जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन रहिआएको छ।
राष्ट्रप्रमुख तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा भोटो देखाउने परम्पराअनुसार यस वर्षको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री वालेन्द्र शाह सहभागी भएका थिए। हजारौँ भक्तजन तथा दर्शकको उपस्थितिमा आयोजित कार्यक्रममा गुठी संस्थान ललितपुरका वरिष्ठ सहायक श्रीकृष्ण बाडेले परम्पराअनुसार रथको माथिल्लो भागबाट भक्तजनलाई भोटो प्रदर्शन गरे।
भोटो प्रदर्शनसँग जोडिएको एउटा रोचक किंवदन्ती पनि प्रचलित छ। परम्पराअनुसार भोटो देखाउने क्रममा “यो भोटो कसको हो ?” भन्ने प्रश्न सार्वजनिक रूपमा सोधिने गरिन्छ। किंवदन्तीमा एक किसानले नागराजाबाट प्राप्त गरेको बहुमूल्य भोटो हराएपछि त्यसको दाबी कसले गर्ने भन्ने विवाद उत्पन्न भएको र त्यसैको स्मरणस्वरूप हरेक वर्ष भोटो देखाउने परम्परा सुरु भएको विश्वास गरिन्छ। यद्यपि हालसम्म कसैले पनि उक्त भोटो आफ्नो भएको प्रमाणसहित दाबी गर्न सकेको इतिहास छैन।
करिब एक हजार ६०० वर्ष पुरानो मानिने रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै प्राचीन तथा महत्त्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। विशेषगरी काठमाडौँ उपत्यकामा वर्षा, कृषि उत्पादन र समृद्धिको कामना गर्दै यो जात्रा मनाउने गरिन्छ।
भोटो प्रदर्शन कार्यक्रम सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको देवमूर्तिलाई रथबाट निकालेर सानो खटमा राखी बाजागाजासहित बुँगमती लगिएको छ। देवतालाई बुँगमती पुर्याएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा विधिवत रूपमा सम्पन्न भएको मानिने परम्परा रहिआएको छ।



प्रतिक्रिया