‘पार्टीभित्र समूहको बीउ नरोप्नुस्’ : प्रधानमन्त्री बालेन


चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले पार्टीभित्र आन्तरिक गुटबन्दी र समूहवाद सह्य नहुने स्पष्ट पारेका छन् । चितवनमा शुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नयाँ राजनीतिक संस्कार बोकेको पार्टीमा पुराना दलहरूको जस्तो विकृति भित्रिन दिन नहुनेमा जोड दिए ।
पार्टीभित्र आ–आफ्नो समूह बनाउने र आन्तरिक समीकरणमा अल्झिने प्रवृत्तिप्रति कडा प्रहार गर्दै उनले नेताहरूलाई जनकेन्द्रित राजनीति गर्न सुझाव दिए ।
प्रधानमन्त्री बालेनले पुराना राजनीतिक दलहरू गुटबन्दी र आन्तरिक कलहका कारण जनताबाट टाढिएको स्मरण गराउँदै रास्वपाले त्यो गल्ती दोहोर्‍याउन नहुने उल्लेख गरे ।
उनले भने, ‘पार्टीभित्र कुनै पनि बहानामा समूहको नाममा बीउ रोप्ने काम नगर्नुहोस् । त्यस्तो बीउले भोलि पार्टीलाई नै समाप्त पार्छ । यस्ता कुराहरू हामीले पुराना दलहरू भत्किएको हेरेर सिक्नुपर्छ ।’
उनले साँचो र सफल राजनीतिज्ञ बन्नका लागि कुनै एउटा गुट वा समूहको फेरो समातेर नहुने बरु जनताको मन जित्नुपर्ने धारणा राखे । राजनीतिमा दिगोपन जनविश्वासले मात्र ल्याउने उनको तर्क थियो ।
रास्वपाको यस महाधिवेशनले नयाँ नेतृत्व र नीति तय गरिरहँदा प्रधानमन्त्री बालेनको यो अभिव्यक्तिलाई पार्टीभित्र हुर्कन सक्ने सम्भावित महत्त्वाकांक्षा र आन्तरिक उप–समूहहरूलाई समयमै सचेत गराउने कडा रणनीतिक सन्देशका रूपमा हेरिएको छ ।