रवि र बालेनका सामु गगन थापाले के भने ?


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको मञ्च आइतबार फरक राजनीतिक रङ्ग र रणनीतिक सन्देशको थलो बन्यो । शुभकामना दिन चितवन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाको छोटो समयको यात्रालाई जति लोभलाग्दो भनेर प्रशंसा गरे, त्यति नै ऐतिहासिक दृष्टान्त दिँदै आगामी सम्भावित दुर्घटनातर्फ पनि सचेत गराए ।

नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा परिचित सभापति थापाले रास्वपाको ४ वर्षे यात्रा र यसले बटुलेको जनमतलाई असाधारणको सङ्ज्ञा दिए ।

मञ्चबाट सम्बोधन गर्दै सभापति थापाले भने, “पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ, यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु ।”

सभापति थापाले रास्वपा सभापति रवि लामिछाने मात्र होइन, प्रधामन्त्री बालेन शाहको नेतृत्व क्षमतालाई पनि महाधिवेशनकै मञ्चबाट खुलेरै प्रसंशा गरे । सङ्गठन निर्माणदेखि निर्वाचनसम्मको यात्रामा नयाँ पुस्ताले देखाएको कुशलता र त्यसलाई जनताले दिएको साथलाई उनले बधाइको हकदार ठाने ।
प्रशंसाको फूल बर्साउँदा-बर्साउँदै सभापति थापाले रास्वपाका नेता कार्यकर्तामाझ एउटा गम्भीर राजनीतिक दर्शन र इतिहासको तीतो सत्य पनि पस्किन भुलेनन् । इतिहासमा यस्तो अभूतपूर्व जनसमर्थन दल र नेताले विरलै पाउने गरेको उल्लेख गर्दै उनले विगतका कतिपय यस्तै लहरहरू अन्ततः दुर्घटनामा टुङ्गिएको स्मरण गराए ।

“इतिहासमा यस्तो स्तरको जनसमर्थन राजनीतिक दलहरूले विरलै प्राप्त गर्छन्, तर तीमध्ये धेरै अनुभवहरू अन्ततः दुर्घटनामा पुगेका छन्” – गगन थापा ।

रास्वपाको महाधिवेशनले नयाँ नेतृत्व र नीति तय गर्दै गर्दा विपक्षी दलका सभापतिबाट आएको यो टिप्पणी निकै मननीय छ । रास्वपाको ४ वर्षे यात्रा पक्कै पनि लोभलाग्दो छ तर सभापति थापाले भनेझैँ यो जनसमर्थनलाई संस्थागत गर्दै दुर्घटनाबाट बचाएर मुलुकको समृद्धिको बाटोमा डोर्‍याउनु नै रास्वपाको अबको वास्तविक र मुख्य परीक्षा हुनेछ ।