पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव अमृतबहादुर राई र पूर्व सचिव सेवा लम्सालले दिए अख्तियारमा बयान


काठमाडौं, असार ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहित परराष्ट्र सचिव अमृतबहादुर राई र पूर्व सचिव सेवा लम्सालसँग बयान लिएको छ । आयोगको मुख्यालय टंगालमा राहदानी छपाइ प्रकरणमा बयान लिएको आयोग स्रोतले जनाएको छ ।

पुष्कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा लम्साल पररारष्ट्र सचिव थिइन् भने विद्युत्तिय राहदानीको टेण्डर प्रक्रिया हुँदा अहिलेका सचिव राई परराष्ट्रमै सह सचिव थिए ।

राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन दिनको समय दिएर बयानका लागि बोलाएको थियो । अख्तियारले असार २ मा देउवाको बुढानिलकण्ठ स्थित घर ठेगानामा म्याद टाँस गरेको भए पनि उनी हाल विदेश रहेकाले उपस्थित भएकी छैनन् । स्वास्थ्य उपचारका लागि हाल हङकङमा रहकी उनले तीन दिन भित्र अख्तियारमा उपस्थित हुन नसक्ने संदेश पठाएकी छिन् ।

अख्तियारले राहदानी छपाई प्रकरणमा हाल राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनील केसी र ठेक्का पाएको कम्पनीका नेपाल प्रतिनिधिमाथि पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।