काठमाडौं । भारतले नेपाली चियामा लागू गरेको नयाँ परीक्षण तथा आयात सम्बन्धी व्यवस्थाका कारण नेपालका चिया उद्योग गम्भीर संकटमा परेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर उद्योगी र किसानले कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
संघका अनुसार भारतले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर अनुसार नेपालबाट निर्यात हुने प्रत्येक चियाको खेप अनिवार्य रूपमा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। परीक्षण रिपोर्ट नआउँदासम्म चिया बिक्री वा वितरण गर्न नपाइने प्रावधानले निर्यातमा जटिलता थपिएको हो ।
नयाँ व्यवस्थामा प्रत्येक खेपको विवरण भारतीय चिया परिषदको पोर्टलमा दर्ता गर्नुपर्ने, परीक्षण शुल्क तिर्नुपर्ने र रिपोर्ट नआउन्जेल चिया बिक्री वा वितरण गर्न नपाइने, ।
आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको अगुवाइमा सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।
उनीहरुले मुख्यगरी ४ माग पेश गरेका छन्-
१. उच्चस्तरीय कूटनीतिक पहल: भारतीय सरकार र सम्बन्धित निकायसँग तत्काल संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउनुपर्ने।
२. अन्तर-सरकारी संयन्त्र: नेपाल र भारतबीच चिया व्यापारका प्राविधिक र नियामकीय विषय समाधान गर्न स्थायी द्विपक्षीय संयन्त्र स्थापना गर्नुपर्ने।
३. प्रयोगशाला परीक्षणको पारस्परिक मान्यता: दुवै देशका प्रयोगशालाको रिपोर्टलाई एक-अर्काले मान्यता दिने व्यवस्था (Mutual Recognition) मिलाई दोहोरो परीक्षणको झन्झट हटाउनुपर्ने।
४. स्वदेशी उद्योगको संरक्षण: चिया किसान र उद्योगीको हित संरक्षणका लागि विशेष नीतिगत र कूटनीतिक सहयोग उपलब्ध गराउनुपर्ने।





प्रतिक्रिया