एमालेले भन्यो : विष्णु पौडेलको गिरफ्तारी अलोकतान्त्रिक र नांगो प्रतिशोध


काठमाडौं, असार ८ । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई सरकारको नाङ्गो प्रतिशोधको रूपमा व्याख्या गर्दै त्यसको घोर निन्दा र भर्त्सना गरेको छ। पार्टीको सांगठनिक सुदृढीकरण अभियानका सिलसिलामा सुर्खेतमा रहेका बेला पौडेललाई गैरकानुनी ढंगले ‘अपहरणको शैली’ मा नियन्त्रणमा लिइएको भन्दै एमालेले गम्भीर आपत्ति प्रकट गरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज एक प्रेस वक्तव्य जारी गर्दै यस घटनालाई विपक्षी दलहरू विरुद्ध वर्तमान सरकारले अख्तियार गरेको अराजनीतिक र अलोकतान्त्रिक हर्कतको पराकाष्ठा भएको बताएका छन् ।

एमालेले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई पार्टीमाथि भइरहेको श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता भएको ठहर गरेको छ। सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेकै अवस्थामा सामान्य सोधपुछ समेत नगरी ‘सस्तो राजनीतिक खपत’ का लागि बदनियतपूर्वक समातिएको एमालेको आरोप छ।

वक्तव्यमार्फत अध्यक्ष ओलीले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोमा उन्मुख भएको भन्दै कडा चेतावनी दिनुभएको छ। एमालेले यस्ता निकृष्ट र प्रतिशोधपूर्ण कार्य तत्काल बन्द गर्न माग गर्दै सरकारको स्वेच्छाचारी कदमका विरुद्ध एकजुट भएर प्रतिवाद गर्न सम्पूर्ण देशभक्त र न्यायप्रेमी शक्तिहरूलाई आह्वान समेत गरेको छ।