पार्टी सुधार्ने अभियान रोकिन्न : गगन थापा


झापा । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो एक दशकमा पार्टीलाई छियाछिया पारिएको उल्लेख गरेका छन्।

झापामा आयोजित पार्टीको एक कार्यक्रममा थापाले पार्टी सुधारको अभियानमा लाग्दा आउने कुनै पनि अवरोध वा प्रलोभनलाई आफूले नस्वीकार्ने स्पष्ट पारे।

‘बीपी कोइरालाले जग बसालेको पार्टीलाई पछिल्लो ८–१० वर्षमा छियाछिया पारियो,’ थापाले नेताहरूप्रति कटाक्ष गर्दै भने, ‘अहिले यसलाई पुनर्जीवन दिन्छु भनेर लाग्दा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछन् भने ती मान्य हुँदैनन्। नमानेरै अघि बढ्ने हो, हामी पार्टी बनाउन आएका हौं।’

सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आसन्न महाधिवेशन प्रक्रियामा अनिवार्य सहभागी हुन आग्रह गरे। डिजिटल प्रणाली र विधानको पूर्ण पालना गरिने स्पष्ट पार्दै उनले ‘सिस्टम’ले नचिनेका व्यक्तिहरूले मतदान गर्न नपाउने कडा चेतावनीसहितको सन्देश दिए।

‘अब वडा अधिवेशनहरू शुरु हुँदैछन्। समयमै आफ्नो विवरण अद्यावधिक नगर्नु भएका नेताहरूलाई म सम्मान त गर्छु, तर क्षमा गर्नुहोला– सिस्टमले उहाँहरूलाई चिन्दैन,’ थापाले थपे, ‘अद्यावधिक नभएका साथीहरूको नाम प्रणालीमा नआउने भएकाले उहाँहरूले भोट हाल्न पाउनुहुने छैन।