नयाँ दिल्ली । भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको एउटा यात्रुवाहक विमान प्राविधिक गडबडीका कारण अनियन्त्रित भएर पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेपछि पुनः भारत फर्काइएको छ ।
सो विमानले दिल्लीबाट अमृतसरका लागि उडान भरेको थियो । एयरपोर्ट अधिकारीहरूका अनुसार एयरबस एआई–३२१ विमान सोमबार राति ९ः१८ बजे दिल्लीबाट उडेको थियो, जुन निर्धारित समयभन्दा केही मिनेट ढिलो थियो ।
उडानका क्रममा प्राविधिक समस्या देखिएपछि विमान आफ्नो निर्धारित मार्गबाट विचलित भई पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको बताइएको छ । पाकिस्तानको हवाई यातायात नियन्त्रण ९एटीसी०ले विमानलाई सीमा उल्लङ्घनबारे चेतावनी दिएपछि पाइलटले तुरुन्तै स्थिति बुझेर विमानलाई भारततर्फ फर्काएका थिए ।
तर अमृतसरको हवाई क्षेत्रमा अत्यधिक ट्राफिक भएकाले विमानलाई तत्काल अवतरण अनुमति दिइएन । त्यसपछि एटीसीले विमानलाई पुनः दिल्ली फर्किन निर्देशन दिएको थियो । विमान दिल्लीमा सुरक्षित अवतरण गरेपछि करिब दुई घण्टापछि पुनः अनुमति लिएर फेरि उडान भरेको थियो ।
पुनः उडानपछि विमान अन्ततः राति २ः२० बजे अमृतसरमा सुरक्षित रूपमा अवतरण गरेको बताइएको छ । यस घटनाका कारण यात्रुहरूलाई करिब चार घण्टा ढिलाइ भएको छ ।
सम्बन्धित अधिकारीहरूले प्राविधिक समस्या र मार्ग विचलनको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । विमान कसरी पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गर्यो भन्ने विषयमा विस्तृत जाँच भइरहेको जनाइएको छ । एजेन्सी



प्रतिक्रिया