विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट


काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

पौडेलकी पत्नीले दर्ता गराएको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा कुनै ठोस प्रमाणविना पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहाइको आदेश माग गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमल किशोर मालपानी समूहसँग सम्बन्धित सेयर कारोबार प्रकरणमा ‘चिनजान गराइदिएको’ भन्ने बयानका आधारमा मात्रै पौडेललाई पक्राउ गरिएको रिटमा दाबी छ ।

विभागले पौडेललाई नियन्त्रणमा लिएपछि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उनलाई गत सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा लिई काठमाडौं ल्याइएको थियो ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भएपछि पौडेलको पक्राउ र थुनासम्बन्धी कानुनी प्रक्रियाको वैधानिकतामाथि न्यायिक परीक्षण हुनेछ ।