काठमाडौं, असार ११ । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताए ।
नेपाल–रुस सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै उनले आगामी साउन ४ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा हुने बताए ।
“नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका सन्दर्भमा यो वर्ष हाम्रो लागि विशेष छ । आगामी जुलाई २० मा हामी केवल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मात्र होइन, सद्भाव, पारस्परिक सम्मान र जनस्तरका सम्बन्धमा आधारित दीर्घकालीन मैत्रीका ७० वर्ष पूरा भएको अवसरसमेत मनाउँदैछौँ,” उनले भने।
राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच पारस्परिक विश्वास र समझदारीमा आधारित लामो तथा मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । साथै उनले आगामी दिनमा नेपाल–रुसबीचको मित्रता र सहकार्य अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे।



प्रतिक्रिया