काठमाडौं, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैली र नयाँ नेतृत्वका लागि जारी मतदानअघि उम्मेदवारहरुको नाम तलमाथि परेको भन्दै पार्टीका जिम्मेवार नेताहरूले नै असन्तुष्टी व्यक्त गरेका छन् । महाधिवेशनमा विचार, सिद्धान्त, मार्गदर्शनमा ध्यान नदिएर पुराना पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको भन्दै पार्टीका नेताहरुले दुखेसो गर्न थालेका छन् ।कतिपय सांसदहरुले पार्टीको राजनीतिक, संगठनात्मक प्रतिवेदनहरू कुनै छलफल नै नगरी पारित गरेको भन्दै आलोचना भएको छ।
खुलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार डा धनन्जय रेग्मीले पार्टीको कार्यशैलीमाथी प्रश्न उठाउँदै प्रथम महाधिवेशनबाट जितेर आउने पदाधिकारीले पार्टीको अन्तर्राष्ट्रिय बेज्जत गराउने दाबी गरेका छन् । गत भदौ २३ र २४ को जेन–जी विद्रोहपछि २१ फागुनमा भएको निर्वाचनमा १८२ सिटसहित पहिलो दल भएको रास्वपा पहिलो महाधिवेशनबाटै पतनको बाटोमा लागेको बताउँदै उनले यस्तै बेथितिले रास्वपाले देश चलाउन नसक्ने बताएका छन् ।
उम्मेदवारको नाम सूचीमा रहेको विवादबारे प्रष्ट पार्दै उनले हिजोको दिनमा रास्वपाको सांसद भनेर आफूले गर्व गर्ने गरेकोमा जारी महाधिवेशनमा देखिएको भद्रगोल र उम्मेदवारहरुको नाम तलमाथि परेको भन्दै उनले आफूलाई केन्द्रीय सदस्यमा कसैले मतदान नगर्नेमा ढुक्क रहेको खुलासा गरे ।
बुधबार मध्यरातदेखि जारी पहिलो चरणको विद्युतीय मतदानबारे एक उम्मेदवारले शीर्ष नेतृत्वले हरेक क्लष्टरबाट जिताउन चाहेका मान्छेको नाम अघिल्लो क्रम संख्यामा समावेश गरिएको दावी गरेका छन् ।
वरिष्ठ नेता बालेन्द्र शाह पक्षीय उम्मेदवारहरु प्रतिनिधिबीच त्यति परिचित नभएका कारण उनीहरूलाई जिताउन त्यस्तो गरिएको आशंका ती उम्मेदवारले व्यक्त गरेका छन् ।
अधिवक्ता समेत रहेका संस्थापन निकट नेता यज्ञमणि न्यौपानेले शुरूमै उम्मेदवारी दर्ता गरेपनि ४२ नम्बरमा नाम आएको भन्दै असन्तुष्टी पोखेका छन्। त्यस्तै, नेतृ आशिका तामाङले पनि ३७ नम्बरमा नाम दर्ता गरेको तर १०६ नम्बरमा परेको गुनासो गरेकी छन् । नेता गणेश कार्कीले आफ्नो नाम ‘जालझेल’ भएर १३३ मा पुगेको बताएका छन् ।



प्रतिक्रिया