काठमाडौं, असार ११ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सुरक्षाकर्मी माग गरेका छन् । प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका रावलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिदै सुरक्षाकर्मी(पीएसओ) मागेका हुन् ।
रावलले आफूमाथि सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी उपलब्ध गराउन माग गर्दै १ असारमा निवेदन पेश गरेको प्रशासनले जनाएको छ । रावलले निवेदनमा भनेजस्तै उनलाई सुरक्षा थ्रेट छ ? छैन् भन्ने बारेमा प्रशासनले अध्ययन गरिरहेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले रावललाई सुरक्षा खतरा भए/नभएको विषयमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने सुरक्षा विश्लेषण समितिले अध्ययन गरिरहेको जानकारी दिए ।
उनकाअनुसार सुरक्षा खतराबारे अध्ययन र विश्लेषण गरेपछि त्यसका आधारमा मात्र निर्णय लिइनेछ । सत्तासाझेदार दलका नेपा रहेका पूर्वमुख्यमन्त्री रावललाई कस्तो खालको थ्रेट छ ? भन्ने कुरा सुक्ष्म रुपमा अध्ययन भइरहेको छ ।
रावलले पूर्वमुख्यमन्त्रीका हैसियतमा दुई जना सुरक्षाकर्मी(पीएसो) का रुपमा पाएका थिए । तर, मापदण्डअनुसारको अवधि सकिएपछि उनीहरु फिर्ता भएका छन् । त्यसपछि रावलले फेरि सुरक्षाकर्मी मागेका हुन् । रावलले प्रदेश सरकारमार्फत पनि पीएसओ माग्न सक्थे तर उनले सोझै प्रशासनमै निवेदन दिएका हुन् ।



प्रतिक्रिया