काठमाडौं, असार ११ । गत आइतबार सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण भद्रगोल भएको छ । पार्टीले पहिलोपटक सार्वजनिक गरेको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अगाडी नबढ्दा पार्टीको उद्घाटनसत्रदेखि बन्दसन्त्र र निर्वाचनसम्म भद्रगोल हुन पुगेको छ ।
पार्टीको राजनीतिक, संगठनात्मक प्रतिवेदनहरू कुनै छलफल नै नगरी पारित गरेको भन्दै आलोचना मात्रै भएको छैन् महाधिवेशनमा विचार, सिद्धान्त, मार्गदर्शनमा खासै ध्यान दिएको देखिँएको भन्दै कतिपय महाधिवेशन प्रतिनिधि निर्वाचनमा सहभागी नभएर घर फर्किएका छन् ।
सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रतिवेदन वा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन, अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल र कोषाध्यक्ष लिमा अधिकारीको वित्तीय प्रतिवेदनमा छलफल नै नभएर ताली बजाएर सोझै पास गरिएपछि कतिपय विषयमा विवाद पनि सिर्जना भएको छ। उपसभापति वाग्लेको अर्थ–राजनीतिक प्रतिवेदनमा उल्लेख भएको प्रदेश खारेजको विषयमा प्रतिनिधिहरूले विरोध जनाएका छन्।
महाधिवेशन व्यवस्थापन पक्षमा एकदमै कमजोर भएका कारण महाधिवेशन भद्रगोल देखिनुको रास्वापाकै सांसदहरुले आरोप लगाएका छन् । महाधिवेशन व्यवस्थापन समिति र पार्टीको निर्वाचन आयोगप्रति प्रतिनिधिहरू आक्रोशित बनेका छन्। सुरुको कार्यतालिका अनुसार मंगलबार नै सबै प्रक्रिया सक्ने उल्लेख रहेपनि त्यो सम्भव नभएपछि बुधबार बिहानबाटै निर्वाचन गर्ने भनिएको थियो।
तर, मध्यरातमा सुरु भएको जारी मतदान अहिले विहान १० बजे सक्ने भनिएपनि अहिले आएर १२ बजेसम्मलाई लम्ब्याइएको छ । ८० वटा भोटिङ मेसिनबाट मतदान गराउने भनिए पनि त्यसको व्यवस्थापन चुस्त नदेखिएपछि कतिपय प्रतिनिधि मतदान नै नगरी फर्किएका पनि छन्। डिजिटल पार्टी भनेर भनिए पनि पुरानाभन्दा कुनै फरक नदेखिएको स्वयम् प्रतिनिधिहरूले टिप्पणी गरिरहेका छन्।



प्रतिक्रिया