महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह


महेन्द्रनगर, ११ असार । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज प्रशासनले सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधमा शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल्ट सफाइ (बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने) गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो ।

उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिनेसम्बन्धी एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले तटीय क्षेत्रका नागरिकलाई पूर्वसर्तकता अपनाउन बुधबार सूचना जारी गरिसकेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला भारतीय पक्षबाट पत्राचार भएकाले आवश्यक सर्तकता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरे ।