तानसेन (पाल्पा), ११ असार । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने गिद्ध केही समयता पाल्पामा देखिन छोडेका छन् । दशकअघि यहाँका डाँडा र फाँटहरूमा देखिने गिद्ध हिजो आज देखिँदैनन् ।
मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने वा व्यवस्थित रूपमा राख्न थालेपछि गिद्धलाई आहारा नपुगेको, जनसङ्ख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले गिद्ध कम हुँदै गएका जानकारीहरू बताउँछन् ।
जिल्लाको माथागढी, तानसेन, बगनासकाली, रामपुर क्षेत्रमा केही वर्षअघि गिद्धको बासस्थान थियो । तर सामुदायिक र निजी जग्गाका ठूला पिपल र सिमलका रुख काटिन थालेपछि गिद्ध बासस्थान छाडेर अन्यत्र जाने गरेका दमकडाका प्रकाश नेपालले बताए । उनले भने, “केही वर्षअघिसम्म नजिकैको पीपलमा गिद्धले आफ्नो बच्चा हुर्काउँथ्यो । अहिले यहाँका गिद्ध कहाँ गए । एक दशक भयो देखिन छाडेका छन् ।”
बासस्थान बनाउने ठूला पिपल, बर, सिमलका रुखको नास भएपछि गिद्धले बस्ने स्थान नपाएपछि अन्यत्र जान थालेका छन् । जिल्लामा गिद्ध लोप हुँदै जान थालेपछि वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरूले संरक्षणका लागि विद्यालयस्तरमा सचेतना अभियान चलाउन थालेका छन् ।
अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालयको सहयोगमा दमकडा माविका विद्यार्थीहरुलाई गिद्ध वासस्थान संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
लोपोन्मुख गिद्ध संरक्षणमा योगदान पुर्याउने उद्देश्यले विद्यालयस्तरका विद्यार्थीहरूमा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको समूहका अध्यक्ष लोकनाथ घिमिरेले बताए । उनले भने, “गिद्ध संरक्षण एक जनाले मात्र गरेर हुँदैन समुदायस्तरको उत्तिकै भूमिका रहन्छ । विद्यार्थीमार्फत समुदायमा सचेतना जगाउन हामीले पहिलो चरणमा विद्यालस्तरमा सचेतना कार्यक्रम गरिरहेका छौँ ।”
उनले गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि बासस्थानमा ह्रास आएकाले गिद्ध लोप हुँदै गएका भन्दै त्यस्ता रुखको संरक्षण गर्न सके गिद्धको संरक्षण गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीमा पुर्याउन सचेतना अभियान थालिएको उल्लेख गरे । “विद्यार्थीमार्फ समुदायमा छिट्टै सचेतना फैलाउन सकिन्छ भनेर आफूहरूले पहल थालेका छौँ”, उनले भने ।
यहाँ आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई गिद्धलाई ‘प्राकृतिक सफा गर्ने चरा’ का रूपमा चिनाउँदै वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो । विद्यार्थीलाई विषमुक्त पशु उपचार, सुरक्षित प्राकृतिक वातावरण संरक्षण र समुदायस्तरमा निगरानीबारे पनि प्रशिक्षण दिइएको थियो ।
पक्षी संरक्षण सङ्घ परियोजनाका अधिकृत सुजन बस्नेतले पछिल्लो समयमा मानवीय क्रियाकलाप तथा गतिवधिका कारण गिद्धको जीवनचक्र नै सङ्कटमा पर्दै गएकाले अब संरक्षणका लागि विद्यालय र समुदाय तहबाटै पहल गर्नुपर्नेमा जोड दिए । धार्मिक तथा वातावरणीय हिसाबले पनि उत्तिकै महत्व रहेको गिद्धको अस्तित्व लोप भए महामारीजन्य रोग फैलिन सक्ने भएकाले आगामी दिनमा गिद्धको आहारा र बासस्थानमा संवेदनशील हुनुपर्ने उनले बताए ।
‘गिद्ध हाम्रो वातावरणका पहरेदार हुन्’ भन्ने सन्देश घरघरमा पुर्याउन विद्यार्थीहरूलाई सङ्घ अधिकृत बस्नेतले आग्रह गरे । उनका अनुसार नेपालमा पाइने स्थानीय प्रजाति मध्ये डङ्गरको अनुमानित दुई हजारको सङ्ख्यामा, सानो खैरो ७५ वटा, सेतो गिद्ध एक हजारको सख्यामा रहेका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घका सल्लाहकार नीरञ्जन भुसाल, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकनाथ घिमिरे, सचिव सावित्रा भुसाललगायतले विद्यालयमार्फत वातावरण शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । उनीहरूले स्थानीय समुदाय र विद्यार्थीहरूको सक्रिय सहभागिताले गिद्ध संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको बताए ।



प्रतिक्रिया