केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै सागर ढकालले गरे महामन्त्रीमा भिड्ने घोषणा


काठमाडौं, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।

खुलातर्फको केन्द्रीय सदस्य पदको निर्वाचनमा २ हजार ३ सय ३३ मतका साथ चौथो स्थान हासिल गर्दै विजयी भएका उनले मतपत्रमा नाम खोज्न कठिन हुँदाहुँदै पनि अत्यधिक मत दिएर पहिलो चार जनाभित्र विजयी गराएकामा आभार व्यक्त गरेका छन् ।

पार्टीभित्र सल्लाहकारको भूमिकामा मात्र सीमित नभई, अब एउटा कुशल चालक बनेर संगठन र देशलाई सही दिशामा डोर्‍याउनु पर्ने दायित्व आएकाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको ढकालले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘पहिलो चार जनामा छानिदिनु भएकोमा निकै नै आभारी छु। यस पश्चात मेरो महामन्त्रीमा उम्मेदवारी रहने छ। अब दोस्रो चरणमा मैले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।’