काठमाडौं, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारी चयनको प्रक्रिया अघि बढेको छ। पार्टीको नयाँ महामन्त्री पदका लागि सागर ढकाल, रञ्जु दर्शना लगायत पाँच जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।
केन्द्रीय समितिको परिणाम सार्वजनिक भएलगत्तै महामन्त्री पदको दौडमा रहेकाले आफ्नो नाम सार्वजनिक गरेका हुन् । महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्नेहरूको सूचीमा मनिष झा, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, सागर ढकाल र रञ्जु दर्शनाले उम्मेदवारी घोषणा गरेका हुन्।
पार्टीको विधानअनुसार पदाधिकारी चयनका लागि उम्मेदवारहरू पहिले केन्द्रीय सदस्यमा निर्वाचित भइसकेको हुनुपर्ने प्रावधान छ। रास्वपाको संशोधित विधानअनुसार दुई जना महामन्त्री रहने व्यवस्था छ, जसमा एक जना निर्वाचनबाट र अर्को एक जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ।
मनोनीत हुने महामन्त्रीका लागि विभिन्न नामहरू चर्चामा रहे पनि निर्वाचनबाट आउने एक जना महामन्त्री पदका लागि भने प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।



प्रतिक्रिया