गाडी दुर्घटनामा उपमेयर मगरको निधन


काठमाडौं, असार १३ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा परी निधन भएको छ। शनिबार उनी आफैले चलाएको गाडी दुर्घटना हुँदा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको हो।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी नगरपालिकाको वडा नं २, बांगेसल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रानामगर २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट उपप्रमुखमा निर्वाचित भएका थिए।