काठमाडौं, असार १३ । गृहमन्त्री सुधन गुरुङले शनिबार बारा–पर्साको सीमावर्ती क्षेत्रको सुटुक्क स्थलगत निरीक्षण गरी स्थानीय जेष्ठ नागरिकसँग अन्तरक्रिया गरेको पाइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार मास्क, टोपी, हाफ टिसर्ट लगाएका मन्त्री गुरुङ जानकी टोला, मटिअर्वा र अलौँलगायत सीमाक्षेत्रमा पुगेका थिए। तर उनको यस भ्रमणबारे मन्त्रीको सचिवालयले कुनै जानकारी सार्वजनिक नगरेको तथा बारा र पर्साका प्रहरी प्रशासनले समेत आफूहरूलाई भ्रमणबारे जानकारी नभएको बताएका छन्।
सुरक्षाकर्मीहरूलाई कुनै जानकारी नदिई गरिएको अनुगमनका क्रममा गृहमन्त्रीले नाका क्षेत्रका स्थानीय नागरिकसँग सीमापार तस्करीका विषयमा सोधपुछसमेत गरेका थिए। दिनभर सीमा क्षेत्रमा रहेका गृहमन्त्री गुरुङसँग स्थानीयले सशस्त्र प्रहरीका डिएसपीकै मिलेमतोमा तस्करी भइरहेको दाबी गरेका छन्।
नाकामा जडान गरिएको सिसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा तस्करी गराउने गरिएको गुनासो स्थानीयले गृहमन्त्रीसमक्ष राखेको सार्वजनिक भिडियोमा सुनिन्छ।
स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले, ‘सिसी क्यामराको निगरानी कहाँबाट हुन्छ?’ भनी प्रश्न गरेका थिए। जवाफमा स्थानीयले जिल्ला प्रशासन कार्यालयबाट यसको निगरानी हुने बताएका छन्।



प्रतिक्रिया