पर्वत, १४ असार । बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । रोजगारीका लागि १२ वर्षसम्म साउदी-कोरिया बसेर फर्किएका उनले गाउँमा ६० लाख रुपैयाँ लगानी गरी कृषि कर्ममा जोडिएका छन् ।
आधुनिक कृषि प्रविधि अपनाउँदै क्षेत्रीले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय सञ्चालन गरेका छन् । सुन्दर भविष्य निर्माण गर्ने आश बोकेर दैनिक हजारौँ युवा विदेश पलायन भइरहेको अवस्थामा उनी स्वदेशमा स्वरोजगार बन्ने बाटोमा लागेका छन् ।
सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले ६० लाख रुपैयाँ भन्दा बढीको लगानीमा विस्तार भइसकेको क्षेत्रीले जानकारी दिए । करिब ९० रोपनी क्षेत्रफलमा एसके कृषि फार्म दर्ता गरी व्यावसायिक तरकारी खेती, फलफूल बगैँचा तथा गाइभैँसीपालन गर्दै आएका छन् ।
फार्ममा आधुनिक सिँचाइ प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ । उनले मौसमी तथा बेमौसमी तरकारी, आलु, काँक्रा, अदुवा, कागती, टमाटर खेती गरेका छन् ।
‘सुरुमा धेरैले कृषि गरेर केही हुँदैन विदेन नै गएको राम्रो भनेका थिए’, क्षेत्रीले भने, ‘तर मेहनत र सही योजना छनोट गर्न सकेमा यसैबाट प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ ।’ उनले कृषि पेसाबाट सम्मानजनक जीवनयापन र प्रशस्त आम्दानी गर्न सकिने धारणा राखे ।
किसान क्षेत्रीले आफ्नो फार्मबाट वार्षिक लाखौँको तरकारी तथा भक्तपुरे जातको स्थानीय काँक्राको बीउ बिक्री हुने गरेको जानकारी दिए । हरेक वर्ष लगानी थप गर्दै आएकाले आम्दानी यकिन नभएको उनको भनाइ छ । उनले वार्षिक रूपमा करिब ५० लाखसम्मको कारोबार हुन गरेको बताए ।
किसान क्षेत्रीले आगामी वर्षदेखि आम्दानी बढ्दै जाने उल्लेख गर्दै कोरियाबाट फर्केर विहादीलाई कृषि उत्पादनको क्षेत्रमा ‘ब्रान्ड’ बनाउने योजना रहेको बताए । उनका अनुसार प्रत्यक्ष रूपमा पाँच जनाले रोजगारी पाएका छन् भने स्थानीय किसान पनि आधुनिक खेतीप्रति आकर्षित भएका छन् ।
किसान क्षेत्री अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले यस वर्ष एक हजार ४०० किलो काँक्राको बीउ उत्पादन गरेको छ । कृषक समूहमा ३२ जना सदस्य आबद्ध छन् ।
समूहका अध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष उत्पादित बीउ जिल्लाभर प्रतिकिलो रु छ हजारका दरले बिक्री भएको जानकारी दिए । गत वर्षको दररेटअनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहबाट मात्रै उत्पादित काँक्राको बीउको मूल्य ८० लाख रुपैयाँभन्दा बढी रकम हुने उनले बताए ।
क्षेत्रीले ४५ रोपनी जग्गामा बीउ उत्पादनका लागि काँक्रा खेती गरेकामा ९० किलो बीउ उत्पादन हुने गरेको जानकारी दिए । आफ्नो पेसामा सन्तुष्ट रहेका उनले ग्रामीण क्षेत्रका किसानलाई बैङ्कहरूले ऋण नदिने गरेका भन्दै गुनासो गरे ।
‘सरकारले किसानलाई सहुलियत ब्याजदरमा कृषि ऋण दिनुपर्छ । कृषि विकास बैङ्कले ऋण दिन्छु भनेर अन्तिममा फार्म रहेको जग्गामा पक्की बाटो नपुगेको रहेछ । बाटो नपुगपछि धितो उपयुक्त नभएको भनी अन्तिममा ऋण दिएन । यसले व्यवसाय विस्तारमा समस्या भयो । यस्तो समस्या हुन नदिन स्थानीय निकायले विशेष पहल गर्नुपर्छ’, किसान क्षेत्रीले भने । आगामी दिनमा लोकल कुखुरा र हाँसपालन गर्ने योजना रहेको उनले बताए ।
‘कृषिमा अझै धेरै सम्भावना छन्’, क्षेत्रीले भने, ‘युवाले विदेशमा भन्दा गाउँमै अवसर खोज्नुपर्छ ।’ पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजार र मूल्यको अभाव नहुने उनको अनुभव छ ।
विहादी गाउँपालिकाका कृषि शाखाका प्राविधिक जीवन शाहीले कृषक क्षेत्रीको सफलताले गाउँका अन्य युवालाई कृषि पेसातर्फ आकर्षित गरेको बताए । गाउँको उर्वर भूमि र आधुनिक सोचको संयोजनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उनले विश्वास व्यक्त गरे ।
जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले लोकमार्ग केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्षेत्रीलाई यस वर्ष एक लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको जानकारी दिए ।
उनले युवा व्यावसायिक कृषि क्षेत्रमा आकर्षित हुन थालेका बताउँदै राज्यले पनि उनीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे ।
आधुनिक प्रविधिको प्रयोग, बजार पहुँच र सरकारी सहुलियतले कृषि व्यवसायलाई थप सम्भावना बोकेको क्षेत्र बनाएको उनको भनाइ छ । रासस



प्रतिक्रिया