एन्फामाथिकाे निलम्बन फुकुवा गर्न फिफासँग पहल गर्न माग


काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउन आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको निलम्बन फुकाउन यथाशीघ्र पहल गर्नुपर्ने बताए ।

खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि उनले सरकारलाई आग्रह गरे। युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न अग्रसर हुनुपर्ने उनको भनाइ छ ।