माइतीघरमा नौ दिनदेखि दृष्टिविहीनको रोदन


काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा नौ दिनदेखि एउटा यस्तो दृश्य दोहोरिरहेको छ, जसले राज्यको लोकतान्त्रिक र कल्याणकारी चरित्रमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ । सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा आफ्ना कला प्रदर्शन गरेर जीविकोपार्जन गर्दै आएका दृष्टिविहीन नागरिकहरू उक्त कार्य गर्न सकारले रोक लगाएपछि आफ्ना आधारभूत मागसहित प्लेकार्ड बोकेर सडकमा ओर्लिएका छन् ।

सरकारले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीविकोपार्जनका लागि गरिने सानातिना व्यवसाय र कला प्रदर्शनमा प्रतिबन्ध लगाएपछि दृष्टिविहीनहरू आन्दोलित भएका हुन् । सरकारी रवैयाले आफूहरु भोकै मर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।

प्रदर्शनमा सहभागी दृष्टिविहीन नागरिकहरूले महानगरका नगरप्रहरीबाट आफूहरूमाथि अमानवीय र अपमानजनक व्यवहार हुने गरेको गुनासो गरेका छन् ।
विशेषगरी महिला दृष्टिविहीनमाथि नगरप्रहरीले अभद्र र अमर्यादित व्यवहार गर्ने गरेको आरोप प्रदर्शनकारीहरूको छ । सडक सफा राख्ने नाममा समाजका सबैभन्दा कमजोर र संवेदनशील वर्गमाथि राज्यको संयन्त्र यसरी जाइलाग्नुले काठमाडौं महानगरको सुन्दर शहरको नारालाई गिज्याइरहेको दृष्टिविहीनहरुको दाबी छ ।