काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताएका छन् ।
हुलाक सेवा विभागद्वारा मंगलबार काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा मन्त्री तिमिल्सिनाले उक्त कुरा बताएका हुन् ।
परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गरिरहेको उनले उल्लेख गरे ।
सूचना प्रविधि क्षेत्रको तीव्र विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्त्व भने अझै कायम रहेको उनको भनाइ थियो । डिजिटाइजेसनले हुलाक सेवाको महत्त्व नघटाएको बरु समयअनुकूल आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता बढाएको उनले प्रस्ट पारे ।
सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको मन्त्री तिमिल्सिनाले उल्लेख गरे । सबै काम सरकारले एक्लै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उनको धारणा थियो ।



प्रतिक्रिया