अपहरित लोकतन्त्र फर्काउन संयुक्त संघर्ष जरुरी छ– केपी शर्मा ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अपहरित लोकतन्त्रलाई पुनर्बहाली गर्न सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार आयोजित ‘राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम’मा अध्यक्ष ओलीले उक्त धारणा राखेका हुन् । मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई चिर्न संयुक्त संघर्षको विकल्प नरहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले तत्काल अन्य दलहरूसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्दै नेता तथा कार्यकर्ताहरूलाई त्यस प्रकारको भ्रममा नपर्न आग्रह गरे । एमालेले संस्थागत वा समूहगत रूपमा भागबन्डा गर्ने गरी एकता नगर्ने उनको जिकिर थियो । विगतमा भएका एकताका प्रयासहरूमा पवित्रता नदेखिएको टिप्पणी गर्दै उनले एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच मात्रै मञ्चन भएको आरोपसमेत लगाए ।

विगतका राजनीतिक घटनाक्रम र निर्वाचनको विषयलाई जोड्दै अध्यक्ष ओलीले फागुन २१ गते भएको निर्वाचनलाई नाटकको संज्ञा दिए । उनले भने, ‘गत फागुनको निर्वाचन २०८२ भदौ २३ र २४ गते गरिएका अपराधहरूलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक मात्रै हो ।’

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै ओलीले भदौ २३ को घटनामा गोली कसले चलायो र दुई दिनसम्म सुरक्षा संयन्त्र किन निष्क्रिय रह्यो भन्ने विषय लुकाइएको दाबी गरे । ‘अपराधका घटनालाई ढाकछोप गर्नकै लागि त्यो आयोग बनाइएको स्पष्ट हुन्छ,’ उनले भने, ‘त्यो घटना संविधान, लोकतन्त्र र हामीविरुद्धको सुनियोजित आक्रमण थियो । त्यसलाई युवा विद्रोह वा आन्दोलन भनेर भ्रममा पर्नु हुँदैन ।’

पार्टी पुनर्गठनको सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले हाल निष्क्रिय रहेका पार्टी कमिटीहरूलाई तत्काल सक्रिय बनाइने र आवश्यक परे पुनर्गठन गरिने जानकारी दिए । पार्टीमा चौतर्फी आक्रमण भइरहेका बेला आन्तरिक रूपमा अझ बलियो एकता आवश्यक रहेको औंल्याउँदै उनले रचनात्मक सुझाव दिन कार्यकर्ताहरूलाई निर्देशन दिए ।