काठमाडौँ, १८ असार । आगामी साउन १ गतेदेखि नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शन हुँदैछ ।
झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो ।
सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति चलचित्र ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् ।
सोही शीर्षक र भावमा रहेर डा रिजालकै छोरा डा कपिल रिजालले ‘गौँथली’को निर्माण तथा निर्देशन गरेका छन् । निर्देशक डा रिजालको यो दोस्रो चलचित्र हो, यसअघि उनले ‘ह्यारीकी प्यारी’ नामक चलचित्र निर्देशन गरिसकेका छन् ।
बेलायतमा दन्त चिकित्सक रहेका डा रिजाल पछिल्लो समय चलचित्रको काममै निरन्तर छन् । सानैदेखि कलाकै माहोलमा हुर्किएका कारण लगाव चलचित्रप्रति बढेको हुनसक्ने निर्देशक डा रिजालले बताए ।
‘मैले पहिलादेखि नै साङ्गीतिक श्रव्यदृश्य, छोटा चलचित्र बनाउने गर्थे, यसमा मेरो रूचि बढ्नुका साथै रहर पनि थियो । अहिले समय सही आएकोजस्तो लागेर मैले चलचित्र निर्देशन गरिरहेको छु, मैले निर्देशन गरिरहेका चलचित्रले मनोरन्जनसँगै सामाजिक सन्देश पनि दिएको छ’, निर्देशक डा रिजालले भने ।
उनले निर्देशन गरेका दुवै चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘गौँथली’ मा स्वास्थ्यसँग सम्बन्धित विषय जोडिएको छ । ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को विषयवस्तुलाई प्रस्तुत गरेका निर्देशक डा रिजालले ‘गौँथली’ मा ‘अटिजम’ भएको व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरेका छन् ।
‘म चिकित्सक भएकाले पनि मलाई ती विषयहरू सोचमा आउने गरेको हुनसक्छ, सोही कारण मैले निर्देशन गरेका चलचित्रमा कथा तयार गर्दा स्वास्थ्य पनि जोडिन्छ । यसले आम दर्शकले ती स्वास्थ्य समस्यासँग परिचित गराउनुका साथै त्यस्ता समस्या भएमा के गर्ने भन्नेबारेमा सुक्ष्म तरिकाले जानकारी दिईरहेको हुन्छ’ उनले भने ।
उनले चलचित्र ‘गौँथली’ मा एउटी अध्ययन गर्न चाहिरहेकी बालिका र असामान्य देखिने युवकको जोडीलाई चलचित्रमा प्रस्तुत गरेका छन् । शिक्षाबाट वञ्चित बालिकाले गर्ने सङ्घर्ष नै चलचित्रको मुख्य विषय हो । ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसइई पास गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएकी छन् ।
‘पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ । गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ’, अभिनेता क्षेत्रीले भने ।
उक्त चलचित्रमा अभिनेता क्षेत्रीसँगै सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।
डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रको सम्बाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताए ।
‘हामीले चलचित्रमा घर र परिवारको महत्व देखाउन खोजेका छौँ, जहाँ शिक्षाको महत्त्वपूर्ण भूमिका छ’, निर्देशक रिजालले भने । चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गरेका हुन् ।



प्रतिक्रिया