नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानले तेस्रो बिहे गर्न लागेका छन् । यहि जुलाई ५ मा आफ्नी प्रेमिका गौरी स्प्रैटसँग मुम्बईस्थित आफ्नै निवासमा निजी समारोहबिच विवाह गर्ने जानकारी उनले दिएका हुन् ।
मुम्बईमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आमिरले विवाह अत्यन्तै निजी हुने बताए । उनका अनुसार समारोहमा दुवै परिवारका सदस्य तथा केही नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । उनले सबैसँग शुभकामना र आशीर्वाद पनि मागे । पत्रकार सम्मेलनमा उनका छोरा जुनैद खान आमिरसँगै थिए ।
आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनका अवसरमा गौरीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । गौरी बेङ्गलुरु निवासी सैलुन व्यवसायी तथा फेसन क्षेत्रमा आबद्ध व्यावसायिक व्यक्तित्व हुन् । गौरीको यसअघि नै बिहे भइसकेको छ । उनको सात वर्षका एक छोरा पनि छन् ।
आमिर र गौरीबिच एक अर्कालाई करिब २५ वर्षदेखि चिनजान रहेको बताइएको छ । लामो समयसम्म साथी रहेका उनीहरू पछिल्ला वर्षहरूमा प्रेम सम्बन्धमा रहेका थिए । सम्बन्ध सार्वजनिक गरेयता गौरी आमिरसँग विभिन्न सार्वजनिक कार्यक्रमहरूमा देखिँदै आएकी छन् । यसअघि दिएको एक अन्तर्वार्तामा आमिरले गौरी आफ्नो जीवनमा आएपछि आफूले शान्ति र पूर्णताको अनुभूति गरेको बताएका थिए ।
आमिरले यसअघि सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग पहिलो विवाह गरेका थिए । उनीहरूका दुई सन्तान छन्– जुनैद र इरा खा । झन्डै १६ वर्षपछि सन् २००२ मा उनीहरूको सम्बन्ध विच्छेद भएका थियो ।
त्यसपछि आमिरले सन् २००५ मा फिल्म निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । यो जोडीको एउटा छोरा छ । सन् २०२१ मा आमिर र किरणले आपसी सहमतिमा सम्बन्ध विच्छेद गरे । सम्बन्ध विच्छेदपछि पनि उनीहरूबिच मैत्रीपूर्ण सम्बन्ध कायम छ । दुवैले मिलेर छोरा हुर्काइरहेका छन् । एजेन्सी



प्रतिक्रिया