धनकुटा कांग्रेसमा पहिरोः संविधानसभा सदस्य ताम्लीसहित १९ नेताद्वारा पार्टी परित्याग


धनकुटा । पार्टीभित्र बढ्दो वैचारिक विचलन र आन्तरिक किचलोका कारण नेपाली कांग्रेसको संगठनात्मक धरातल खस्कने क्रम जिल्ला तहमा पनि तीव्र बनेको छ । यसैबीच, नेपाली कांग्रेस धनकुटामा ठूलो संगठनात्मक धक्का लागेको छ । दोस्रो संविधानसभा सदस्य अञ्जना ताम्लीसहित धनकुटाका १९ जना स्थापित नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक रूपमा कांग्रेस परित्यागको घोषणा गरेका छन् ।
उनीहरूले केन्द्रीय सभापति गगन थापालाई सम्बोधन गर्दै संयुक्त रूपमा राजीनामा पत्र बुझाएका हुन् । कांग्रेसभित्र युवा पुस्ताको नेतृत्व आए पनि तल्लो तहका इमान्दार कार्यकर्ताको भावना समेटिन नसकेको गुनासो बढिरहेका बेला धनकुटाको यो सामूहिक बहिर्गमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
सामूहिक राजीनामा बुझाउनेहरूमा संविधानसभा सदस्य एवं महासमिति सदस्य अञ्जना ताम्ली र कोशी प्रदेश कार्यसमिति सदस्य मीना राईजस्ता स्थापित अनुहारहरू छन् । उनीहरूले नेतृत्वलाई बुझाएको पत्रमा पार्टीभित्र गुटतन्त्र हाबी भएको, निष्ठावान् कार्यकर्ताका लागि काम गर्ने वातावरण नरहेको र पछिल्लो समय पार्टीको सैद्धान्तिक एवं वैचारिक दिशामा गम्भीर मतभेद देखिएकाले कांग्रेसमा बसिरहन नसकिएको उल्लेख छ ।