विराटनगर । गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गाको संयुक्त निरीक्षण गरेका छन् ।
त्यसक्रममा स्वास्थ्यमन्त्री मेहताले एक हप्ताभित्र सार्वजनिक जग्गा खाली गराउने बताएकी छिन् ।
वर्षौँदेखि विभिन्न सङ्घ–संस्थाले अस्पतालको जग्गा कब्जा गरेर व्यावसायिक प्रयोजनमा लगाएपछि आइतबार साँझ स्थलगत निरीक्षणमा पुगेकी मन्त्री मेहताले त्यस्ता संरचना हटाउन एक हप्ते ‘अल्टिमेटम’ दिएकी हुन् ।
अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन दिएको १५ दिने समयसीमा असार २२ गते नै सकिएको थियो । म्याद सकिएको दुई दिनपछि स्वास्थ्यमन्त्री मेहता र गृहमन्त्री सुधन गुरुङसहितको टोलीले आज साँझ अस्पतालको परिसरलाई एक फन्को लगाएका थिए ।
कोशी अस्पतालको नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि यसअघि नै संरचना खाली गर्न निर्देशन दिइसकेको छ ।



प्रतिक्रिया