कांग्रेसको इतर समूह चुनदेवीमा कस्तो रणनीति बनाउँदै छ ?


काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र विवाद निरुपणका लागि संस्थापन र संस्थापनइतर समूहबीच घनीभूत छलफल सुरु भएको छ । सोमबार संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा बसेको बैठकमा नेता पूर्णबहादुर खड्काले संस्थापन समूहसँग भएका पछिल्ला संवाद र सहमतिका प्रयासबारे विस्तृत ब्रिफिङ गरेका छन् ।
बैठकमा नेता खड्काले पछिल्लो समय विकसित संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा इतर समूहको समायोजनका विषयमा केन्द्रित रहेर आफ्ना कुरा राखेका थिए ।
ब्रिफिङका क्रममा खड्काले इतर समूहको शक्ति र व्यवस्थापनबारे प्रष्ट पारेका छन् । उनले भने, ‘हामी अहिले डा. शेखर कोइरालासहित १११ जनाको टिममा छौँ र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्नका लागि संस्थापन पक्षसँग प्रस्ताव गरिएको छ ।’

यो प्रस्तावलाई पार्टीभित्रको शक्ति बाँडफाँड र सन्तुलनका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

खड्काले संस्थापन पक्षबाट आएको सातबुँदे प्रस्तावको लिखित जवाफ आफूले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई ‘ह्वाट्सएप’मार्फत पठाइसकेको समेत बैठकलाई जानकारी गराए ।
संस्थापन र इतर पक्षबीचको संवादलाई तार्किक निष्कर्षमा पुर्‍याउन उपसभापति विश्वप्रकाश शर्माले मध्यस्थकर्ताको भूमिका खेलिरहेको बुझिएको छ । खड्काका अनुसार उपसभापति शर्माले उक्त लिखित जवाफ र प्रस्तावहरूबारे पार्टी सभापति गगन थापालाई ब्रिफिङ गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस उपसभापति शर्माले पूर्णबहादुर खड्का र डा. शेखर कोइराला दुवैलाई पार्टीको ‘वरिष्ठ नेता’ बनाउने प्रस्ताव अघि सारेका थिए । तर, नेता खड्काले उक्त प्रस्तावलाई आफूले अस्वीकार गरिदिएको बैठकमा खुलासा गरे ।
नेपाली कांग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा चुनदेवीमा भएको यो भेलालाई संस्थापन पक्षले पनि सतर्कतापूर्वक नियालिरहेको जनाइएको छ ।