काठमाडौँ । चितवनमा भव्य तामझामका साथ सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशन सकिएको केही दिन भइसक्दा पनि पार्टीभित्रको राजनीतिक सरगर्मी घटेको छैन, यसले नयाँ रूप लिएको छ। महाधिवेशनको राप र ताप बोकेर काठमाडौँ फर्किएका नेता–कार्यकर्ताहरूको ओइरो अहिले पार्टी कार्यालय वनस्थली र सभापति रवि लामिछानेको निवास आसपास देखिन थालेको छ। बाहिरबाट हेर्दा यो बधाई र शुभकामना आदानप्रदानको सामान्य चहलपहलजस्तो देखिए पनि भित्रीरूपमा भने यो केन्द्रीय समितिमा आफ्नो स्थान सुरक्षित गर्ने र महत्त्वपूर्ण विभाग हत्याउने रणनीतिक दौडधुप बनेको छ ।
महाधिवेशनले रवि लामिछानेलाई पुनः सर्वसम्मत रूपमा सभापति त चयन गर्यो, तर केन्द्रीय समितिको पूर्ण आकार र पदाधिकारीहरूको अन्तिम टुङ्गो लाग्न बाँकी रहँदा आकांक्षीहरूको दबाब सभापतिमाथि ह्वात्तै बढेको छ। असार १७ गते वनस्थलीमा नवनिर्वाचित कमिटीका केही सदस्यहरूको शपथ ग्रहण सकिएलगत्तै पार्टीभित्र आन्तरिक शक्ति सन्तुलन मिलाउने कसरत तीव्र बनेको छ।
रास्वपा स्रोतका अनुसार अहिले लामिछानेको निवासमा लाग्ने घुइँचोको मुख्य अन्तर्य केन्द्रीय सदस्य र महत्वपूर्ण विभागको जिम्मेवारी हत्याउनु नै हो। महाधिवेशनले नीति र नेतृत्वको एउटा खाका कोरे पनि केन्द्रीय कार्यसमितिमा समेटिन बाँकी रहेका तर पार्टीमा लामो समय योगदान दिएका भनिएका नेताहरू यतिबेला ‘लबिङ’मा व्यस्त छन्।
रास्वपाले आफूलाई परम्परागत पार्टीहरूभन्दा फरक दाबी गर्दै आएकाले पनि यसपटक विभागहरूको जिम्मेवारी बाँडफाँड पेचिलो बनेको छ। वैदेशिक मामिला, आर्थिक नीति, संगठन र सञ्चार जस्ता प्रभावशाली विभागहरूमा पुरानै अनुहार दोहोरिने कि नयाँ र प्राविधिक रूपमा दक्ष युवालाई अघि सार्ने भन्नेमा पार्टीभित्र दुई धार स्पष्ट देखिन्छ। आफ्नो राजनीतिक भविष्य र पार्टीभित्र भूमिका बलियो बनाउन खोज्नेहरूका लागि अहिले सभापति लामिछानेको विश्वास जित्नु प्राथमिक शर्त बनेको छ, जसले गर्दा उनको सचिवालयलाई भीड व्यवस्थापन गर्न धौ–धौ परिरहेको छ।
देशैभरिबाट महाधिवेशनका लागि आएका प्रतिनिधि, जिल्ला सभापति र जनवर्गीय संगठनका नेताहरू काठमाडौँबाट फर्किनुअघि नेतृत्वसँग वान–टु–वान संवाद गर्न चाहन्छन्। यो घुइँचो पद माग्नेहरूको मात्र होइन, आगामी राजनीतिक एजेन्डा र संगठन विस्तारको खाका बुझाउनेहरूको पनि हो। महाधिवेशनलगत्तै देखिएको यो पद र जिम्मेवारीको हानथापले पार्टीभित्र पनि परम्परागत दलहरूकै जस्तो गुटबन्दी त शुरु भएको होइन भन्ने राजनीतिक वृत्तमा आशंका उब्जाएको छ।
भीड र आकांक्षीहरूको यो दबाबलाई व्यवस्थापन गर्दै सभापति लामिछानेले कस्तो टिम निर्माण गर्छन् र विभागहरूमा कसरी सन्तुलन कायम गर्छन्, त्यसैले रास्वपाको आगामी राजनीतिक दिशा तय गर्नेछ। वनस्थली र लामिछाने निवासको यो घुइँचो पदको लुछाचुँडी मात्रै बन्नेछ कि कार्यविभाजनको वैज्ञानिक थलो ? त्यो भने आगामी दिनमा हुने पदाधिकारी चयनले स्पष्ट पार्नेछ।



प्रतिक्रिया