रास्वपामा तिक्तता बढ्दै, बालेन पक्षका नेताले दिए संस्थापन पक्षलाई सक्किने चेतावनी


काठमाडौं, असार २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले सहमतिबाट नभाग्न संस्थापन पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन साह निकट सांसद कार्कीले सामाजिक संजालमार्फत सहमतिमा नअडिए, सहमतिमा खेलबाड गरे सक्किने बताएका हुन् ।

पार्टीको नेतृत्व रवि लामिछानेले गर्ने र सरकारको नेतृत्व बालेन साहले गर्ने सहमति भएकाले त्यसलाई नभुल्न चेतावनी दिएका उनले सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहले सरकारको आलोचना गरेपछि कार्कीको यस्तो भनाई सार्वजनिक गरेका हुन् । संसद्मा रास्वपाका केही सांसदले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

उनले भनेका छन्, ‘सोच्ने नै हो भने राम्रो सोचौँ । पछाडि फर्किने नै हो भने त्यो सहमतिमा फर्कौँ जहाँ प्रष्ट भनिएको थियो, पार्टीको नेतृत्व रवि लामिछानेको हो, सरकार बने बालेन साहको नेतृत्वमा बन्छ । रास्वपालाई मतदाताले लगभग दुई तिहाई दिएको त्यही सहमतिको विश्वासमा हो । रास्वपाको महाधिवेशनले अनुमोदन गरेको पनि त्यही हो ।’

त्यस्तै उनले समुल नष्टको बाटो कोही हिँड्न खोज्छ भन्ने सोच्दै नसोच्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘पाँच वर्षको लागि पार्टीको बाटो, नेतृत्व, विधान, नीति सबैको आधार त्यही सहमति हो । सहमति भन्दा बाहिर कोही जाँदैन भन्नेमा शंका आवश्यक छैन । केही शंकास्पद कुरा देखिए प्राविधिक गडबडी हुन्, सच्चिन्छन् भन्ने सोचौँ । सहमतिमा नअडिए, सहमतिमा खेलबाड गरे सक्किने हो । तर त्यो समाप्ति पार्टी र नेताको मात्रै हुँदैन, परिवर्तनको सम्भावनाको पनि हुन्छ; विश्वासको पनि हुन्छ, इमानको पनि हुन्छ । समुल नष्टको बाटो कोही हिँड्न खोज्छ भन्ने सोच्दै नसोचौं । किनकी, सोच्ने नै हो भने राम्रो सोचौँ । पछाडि फर्किने नै हो भने त्यो सहमतिमा फर्कौँ जहाँ प्रष्ट भनिएको थियो ।’