‘ध्रुवे’ हात्तीको दाह्रा काटेर नयाँ रेडियो कलर जडान गरिने


चितवन । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २५ जनाको ज्यान लिइसकेको हिंस्रक जङ्गली भाले हात्ती ‘ध्रुवे’ लाई नियन्त्रणमा लिई दाह्रा काट्ने तयारी गरिएको छ। गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा एकै परिवारका आमाछोराको ज्यान लिएपछि निकुञ्ज प्रशासनले ध्रुवेलाई बेहोस बनाई दाह्रा काट्ने र नयाँ रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाएको हो।

निकुञ्जका अनुसार ध्रुवेको दाह्रा दुई वर्षअघि पनि काटिएको थियो। यसपटक दाह्रा छोटो बनाउनेसँगै पुरानो रेडियो कलरले सही सूचना नदिएकाले नयाँ उपकरण जडान गर्न लागिएको हो। रेडियो कलर जडान गरेपछि हात्ती मानव बस्ती पसेको तत्काल थाहा हुने र स्थानीयलाई पूर्वसतर्कता अपनाउन सहज हुने निकुञ्जले जनाएको छ।

गत शनिबार राति घरमै बसिरहेका बेला आक्रमण गरी ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। सो क्रममा हात्ती धपाउन आगो बाल्न खोज्दा पीडित परिवारको घरसमेत जलेर नष्ट भएको छ। निकुञ्ज र विपद् व्यवस्थापन समितिले सो घर पुनर्निर्माण गरिदिने तयारी गरेका छन्।

२०६६ सालदेखि मान्छेमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सम्म आइपुग्दा १५ जनाको ज्यान लिइसकेपछि स्थानीय प्रशासनले यसलाई मार्ने आदेशसमेत दिएको थियो। त्यसपछि केही समय शान्त रहेको ध्रुवेले ९ वर्षपछि पुनः मानवीय क्षति पुर्‍याउन थालेको हो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो र गोविन्देसहित ४५ देखि ५० वटा जङ्गली हात्ती रहे पनि ध्रुवेले मात्र सबैभन्दा बढी जनधनको क्षति पुर्‍याउँदै आएको छ।